काठमाडौँ। नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीहरुका लागि निर्देशन जारी गरेको छ। प्राधिकरणले कम्पनीहरुलाई मुनाफा सहितको बीमालेख जारी नगर्न निर्देशन दिएको हो।
गत सोमबार मात्रै प्राधिकरणले लघुबीमा कम्पनीहरुलाई निर्देशन जारी गर्दै बीमालेख तयार गर्दा मुनाफामा सरिक नहुने प्रकृतिको बीमालेख मात्रै तयार गर्न निर्देशन दिएको हो । कम्पनीहरुले भने मुनाफामा सरिक हुने प्रकृतिको बीमालेख जारी गर्न अनुमति मागिरहेका थिए।
कारोबारको सुरु चरणमा रहेका कम्पनीहरुलाई सहजताको लागि यस्तो व्यवस्था गरिएको बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताउँछन। ‘यो व्यवस्था हामीले कम्पनी र बिमित दुवैको हितमा हुनेगरि गरेका हौँ।’ निर्देशक पौडेलले भने, ‘अहिले तत्काललाई मुनाफामा सरिक नहुने बनाएपछि भोलीका दिनमा अध्ययन गरेर नाफामा सरिक बनाउन पनि सकिन्छ।’
उनका अनुसार यो निर्णयले कम्पनी र बिमित दुवै निश्चिन्त रहने देखिन्छ। बीमा कम्पनीहरुले पनि प्रतिफल तोकेरै बिमालेख दिनुपर्ने हुँदा भविष्यमा के केति दिनुपर्ने हो भनि अन्यौल नभई व्यावसाय गर्न पाउने र बिमितले पनि बिमालेख पुर्ण भएपछि पाउने रकम आफै तय गर्न सक्ने भए।
बीमालेख बिक्रीपश्चात संकलन गरेको बीमाशुल्कलाई बीमकले विभिन्न क्षेत्रमा पुनः लगानी गरी त्यसबाट आएको नाफाबाट बिमितलाई वितरण गर्ने निश्चित नाफा दिने प्रकृतिका बीमालेख हुन् । यस्ता बीमालेख बिक्री गर्दा बीमकले बीमितलाई थप बोनस रकम पनि प्रदान गर्नुपर्छ ।
तर, मुनाफामा सरिक नहुने बीमालेखमा भने बीमकले बीमितलाई बेचेको बीमालेखमार्फत संकलन गरेको बीमाशुल्क अन्त लगानी गरेपनि त्यसबाट आएको नाफा बीमीतलाई दिन पर्दैन । यस्तो बीमालेखमा बीमितले निश्चित क्षतिपूर्ती र बीमांक रकम मात्रै प्राप्त गर्दछन् ।
अर्थात हालै नयाँ आएका लघुबीमा कम्पनीले बीमालेख जारी गरी त्यसबाट संकलन भएको रकम पुनर्लगानी गरी त्यसबाट भएको मुनाफा पुनः बीमितलाई प्रदान गर्नका लागि अझै केहि अध्ययन गर्नुपर्ने बीमा प्राधिकरणको बुझाई छ । जसका कारण तत्कालका लागि लघुबीमा कम्पनीहरुलाई मुनाफामा सरिक नहुने प्रकृतिका मात्रै बीमालेख विक्री गर्न निर्देशन जारी गरिएको हो ।
यस्तै प्राधिकरणले जारी गरेको निर्देशनमा लघुबीमा कम्पनीलाई मुनाफामा सरिक नहुने बीमालेख मात्रै जारी गर्नुपर्ने भएकाले प्रत्येक ३ बर्षमा बीमांकिय मूल्यांकन गराई प्राधिकरणसमक्ष पेश गर्नसक्ने बताईएको छ ।
यसैगरी लघुबीमा कम्पनीलाई ५ लाख रुपैयाँभन्दा बढीको बीमालेख जारीमा पनि रोक लगाईएको छ । प्राधिकरणले जुनसुकै अतिरिक्त सुविधा थप गर्दा पनि बीमितले भुक्तानी पाउने बीमांकलाई ५ लाख रुपैयाँ ननघाउन निर्देशन जारी गरेको हो ।
प्राधिकरणले मूल बीमालेखको बीमांकमा अतिरिक्त सुविधा (राइडर) थप्दा समेत बीमितले जुनसुकै अवस्थामा भुक्तानी प्राप्त गर्ने रकम पाँच लाख रूपैयाँ ननाघ्ने गरी बीमालेख बिक्री गर्न निर्देशन जारी गरेको हो । नेपालमा हाल जीवन लघुबीमातर्फ गार्डिएन माइक्रो लाईफ र क्रेष्ट माईक्रो लाईफ इन्सुरेन्स संचालनमा छन्।
प्रतिक्रिया