काठमाडौं । दोस्रो दिन लगातार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आज सुनको मूल्य तोलामै १८०० रुपैयाँले बढेर नेपाली बजारमा हालसम्ममै उच्च बिन्दुमा पुगेको हो।
शुक्रबार सुनको मूल्य प्रतितोलामा १ लाख १५ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार सुनको मूल्य १ लाख १३ हजार ७०० पुगेको थियो। जुन यसअघिको हालसम्मकै उच्च मूल्य थियो। यसअघि गत साउन ४ गते सुन तोलाको १ लाख १३ हजार ६०० रुपैयाँसम्म पुगेको थियो।
बुधबार सुन तोलामा १ लाख १३ हजार २०० रुपैयाँ पुगेको थियो। त्यस्तै, मंगलबार प्रतितोला १ लाख ११ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार १ लाख १२ हजार ३०० रुपैयाँ कायम थियो। आइतबार र शनिबार भने सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरि, बिहीबार १ हजार ३९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ४०० रुपैयाँ पुगेको छ।
बुधबार चाँदी १ हजार ४१० रुपैयाँ कारोबार हुँदा मंगलबार १ हजार ३७५ पुगेको थियो। त्यस्तै, सोमबार, आइतबार र शनिबार प्रतितोला १ हजार ३९० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रतिऔंस १ हजार ९४८.९९ डलरमा कारोबार भएको सुनको मूल्य आज १ हजार ९७८.३१ डलर पुगेको छ। चाँदी भने प्रतिऔंस २२.९५ डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया