काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र नागरिक लगानी कोषको संस्थापक समूहको शेयर बिक्रि गर्न लागेको छ।
बैंकले सूर्योदय वोमी लघुवित्तको ९७ लाख ३०५ कित्ता र नागरिक लगानी कोषको २५ हजार कित्ता शेयर लिलामीमा बिक्रि गर्न लागेको हो। लघुवित्तको शेयरका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बोलपत्र पेश गर्न सक्नेछन् भने कोषको शेयर खरिदका लागि प्रचलित कानून बमोजिम योग्य लगानीकर्ताहरुले बोलपत्र पेश गर्न सक्नेछन्।
लगानीकर्ताले यी दुबै कम्पनीको शेयर खरिदका लागि आज (मंसिर १९ गते) देखि मंसिर २६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। सूर्योदय वोमी लघुवित्तको शेयरको न्यूनतम मूल्य १९६ रुपैयाँ तोकिएको छ भने नागरिक लगानी कोषको मूल्य ६८६ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ।
लगानीकर्ताले सूर्योदय वोमी लघुवित्तको न्यूनतम १०० कित्ता र नागरिक लगानी कोषको न्यूनतम १ हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै एनआईसी एशिया बैंकको ट्रेड टावर नेपाल, थापाथलीस्थित कर्पोरेट कार्यालय तथा विराटनगर, विरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतका तोकिएका शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन्।
प्रतिक्रिया