वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुरक्षा माग्दै बैंक तथा वित्तीय संस्थाका चार छाता संगठन एकै ठाउँमा

अर्थलगानी
२०८१ जेष्ठ ७, सोमबार

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाका ४ छाता संगठनहरुले सुरक्षाको माग गर्दै एकमुष्ट विज्ञप्ति जारी गरेका छन्। नेपाल बैंकर्स एशोसियसन अफ नेपाल, डेभलपमेन्ट बैंक एशोसियसन, नेपाल लघुवित्त बैंकर्स संघ र नेपाल वित्तीय संस्था संघले एकमुष्ट रुपमा विज्ञप्ति जारी गरेका हुन्।

विगत केही समय यता केही व्यक्ति तथा समूहले आफ्‌नो निहित स्वार्थ पूर्ति गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था विरुद्ध अनर्गल प्रचार गर्ने, ती संस्थाका कार्यालय तोडफोड गर्ने, कर्मचारीहरु लाई तर्साउने तथा धम्क्याउने, काममा अवरोध पुर्याउने जस्ता अराजक क्रियाकलाप गर्दै आएको र विभिन्न लघुवित्त संस्थाहरुका केही शाखाहरुमा केही अप्रिय घटनाहरु भएको भन्दै बैंकर्सहरुले सुरक्षा माग गरेका हुन्।

‘कर्मचारीहरुलाई भौतिक आक्रमण गर्ने, तर्साउने, धम्क्याउने, कार्यालय तोडफोड गर्ने लगायतका निन्दनीय कार्यहरु भएको छ । आफ्ना ग्राहकहरुलाई सेवा दिन अहोरात्र खटिएका कर्मचारीहरु माथि गरिएको यस प्रकारको घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । करोडौं व्यक्तिहरुको श्रम र पसिनाले आर्जित निक्षेपलाई सुरक्षाको जिम्मेवारी लिएर सञ्चालन भइरहेका बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना निहित स्वार्थ पूर्तिका लागि नियोजित रुपमा आक्रमण गर्ने त्यस्ता व्यक्ति तथा समूहहरुको अराजक क्रियाकलापको हामी भर्त्सना गर्दछौं ।’ विज्ञप्तीमा भनिएको छ, ‘लघुवित्त क्षेत्रमा व्याप्त अन्यौलको स्थितिलाई समाधानका लागि नेपाल सरकारले कार्यदल गठन गरी कार्य गरिरहेको अवस्थामा समेत भईरहेका यस्ता अवाञ्छित गतिविधिले वित्तीय सेवा सहज रुपमा पाउने अधिकारबाट ग्राहकवर्ग वञ्चित हुन पुगेका छन् । प्रचलित ऐन, कानून बमोजिम स्थापित संस्थाहरुले कानून बमोजिम सहज रुपमा कारोवार गर्ने अधिकारबाट वञ्चित हुन पुगेकोमा हामी खेद प्रकट गर्दछौं । यस प्रकारका अवाञ्छित गतिविधिहरुलाई तत्काल नियन्त्रण गरी अत्यावश्यक सेवा अन्तर्गत रहेका बैंक तथा वित्तीय संस्थालाई सहज रुपमा सेवा प्रदान गर्ने वातावरण बनाइ दिन र आवश्यक सुरक्षाको व्यवस्था मिलाइ दिनका लागि हामी नेपाल सरकार संग जोडदार माग गर्दछौं । त्यस्तैगरी, व्यवसायिक सहजीकरणका लागि हाम्रो नियमनकारी निकाय नेपाल राष्ट्र बैंक तथा आवश्यक सहयोग र सुरक्षा प्रदान गरिदिनका लागि स्थानिय सरकार तथा सम्वन्धित अन्य निकायहरु लाई हार्दिक अनुरोध गर्दछौं ।’

पछिल्लो पटक एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको बारा शाखामा केही व्यक्ति तथा समूहहरुले आक्रमण गरेका थिए। त्यसभन्दा अगाडी पनि विषेशगरी लघुवित्तमा धेरै आक्रमण भएको छ। यस्ता आक्रणबाट सुरक्षा प्रदान गर्न छाता संगठनहरुले जिल्ला प्रशासन कार्यलय, गृह मन्त्रालय लगायत विभिन्न सम्बन्धित निकायमा आवेदन दिएको पाईन्छ। यद्यपी यसलाई सरकारले हल्का रुपमा लिएको छ। कुनै कुनै घटनाहरुको उजुरी प्रहरीले समेत लिन नमानेका उदाहरणहरु समेत छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी