काठमाडौँ। आज जेठ २७ गते २ कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । युनाइटेड मोदी हाइड्रोपावर र पाँचथर पावरले आज साधारण सभा गर्न लागेका हुन्।
युनाइटेड मोदी हाइड्रोपावरले कालीमाटी ब्यांकेटमा बिहना ११ बजेदेखि सभा सुरु गर्ने जनाएको छ। यसअघि चैत २९ गते आह्वान गरेको सभामा गणपुरक संख्या नपुगेपछि स्थगित भएको थियो ।
सभामा यस कम्पनीको सेयर लगानी रहेको युनाइटेड मेवाखोला हाईड्रोपावरद्वारा प्रवध्रित ५० मेगावाटको मेवाखोला जलविद्युत आयोजनामा लगानी गर्नका लागि हाल कायम चुक्ता पुँजीबाट १ः१ अनुपातमा १ करोड २३ लाख ५ हजार कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव रहेको छ ।
हाल यस हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि यसको पुँजी २ अर्ब ४६ करोड १० लाख रुपैयाँ पुग्नेछ । यस्तै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै सभाले आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने छ। सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते बुक क्लोज गरिसकेको छ ।
यसैगरी पाँचथर पावरको वार्षिक साधारण सभा होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ। सभाले एक्सेल इन्भेष्टमेन्ट र मेगा भेन्चरलाई गाभ्ने प्रस्ताव पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ १८ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।
यी दुवै कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्ताको लागि लाभांश प्रस्ताव भने गरेका छैनन्।
प्रतिक्रिया