काठमाण्डौ—देशको अर्थतन्त्र सुधारोन्मुख रहेको देखिएको छ। अर्थमन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–८१ को प्रतिवेदनमा यो कुरा उल्लेख गरिएको छ। प्रतिवेदनले मुद्रास्फीति लक्षित सीमा भित्र रहेको, व्यापार घाटामा सुधार आएको र समग्र अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको औंल्याएको छ।
प्रतिवेदनका मुख्य बुँदाहरूः
विश्व अर्थतन्त्रको विस्तारः सन् २०२३ मा विश्व अर्थतन्त्र २.८ प्रतिशतले विस्तार भएकोमा २०२४ मा ३.० ले विस्तार हुने प्रक्षेपण गरिएको छ। उदीयमान तथा विकासोन्मुख मुलुकहरुको अर्थतन्त्र २०२३ मा ३.९ प्रतिशत ले विस्तार भएकोमा, २०२४ मा ४.२ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ।
नेपालको आर्थिक वृद्धिदरः आर्थिक वर्ष २०८०–८१ मा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत अनुमान गरिएको छ। कृषि क्षेत्र ३.०५ प्रतिशत, उद्योग क्षेत्र १.२५प्रतिशत, र सेवा क्षेत्र ४.५० प्रतिशतले विस्तार भएको छ। औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ, जुन लक्षित सीमाभित्र छ।
राजस्व परिचालनः राजस्व परिचालन १०.६ प्रतिशतले बढेको छ। संघीय सरकारी खर्च भने १ प्रतिशतले घटेको छ, तर वित्तीय व्यवस्थातर्फको खर्चमा उल्लेख्य वृद्धि भएको छ।
सरकारी ऋणः सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४२.७ प्रतिशत हो। आन्तरिक ऋण परिचालन कुल गार्हस्थ्य उत्पादनको ४.१ प्रतिशत रहेको छ।
चालु खाता र व्यापार घाटाः वस्तुको पैठारीमा कमी, विप्रेषण आयको वृद्धि, र पर्यटन आवागमनमा उल्लेख्य वृद्धिका कारण चालु खाता २ खर्ब २१ अर्ब ३४ करोडले उच्च बचतमा रहेको छ। वस्तु व्यापार घाटा १प्रतिशत ले सुधार भएको छ।
वैदेशिक विनिमय सञ्चितिः २०८१ असार मसान्तमा विदेशी विनिमय सञ्चिति ३२.६ प्रतिशतले बढेर २० खर्ब ४१ अर्ब पुगेको छ, जुन १३ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त छ।
विप्रेषण र रूपैयाँको अवमूल्यनः नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको संख्यामा केही कमी आए पनि, विप्रेषण आय १६.५ प्रतिशत (नेपाली रूपैयाँमा) र १४.५प्रतिशत (अमेरिकी डलरमा) वृद्धि भएको छ। नेपाली रूपैयाँ अमेरिकी डलरसँग १.६४ प्रतिशतले अवमूल्यन भएको छ।
कर्जा र निक्षेपः लचिलो मौद्रिक नीति अवलम्बन गरिएको कारण कर्जा र निक्षेपको व्याजदर घटेको छ। निजी क्षेत्रतर्फ प्रवाहित कर्जा क्रमशः बढ्दै गएको छ। उत्पादनमूलक र कृषि क्षेत्रमा प्रवाहित कर्जामा वृद्धि भएको छ।
बीमा क्षेत्रः म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमालेखसहित बीमा दायरामा ४३.३ प्रतिशत जनसङ्ख्या समेटिएको छ। बीमा प्रिमियम संकलन ८.३ प्रतिशतले बढेको छ।
पुँजी बजारः २०८१ असार मसान्तमा नेप्से सूचकांक २०९७.१ बिन्दुमा कायम रहेको छ। थप कम्पनीहरूको दर्ता संख्यामा वृद्धि भएको छ। विद्युत उपभोग, उत्पादन र पहुँचमा पनि वृद्धि भएको छ।
यो प्रतिवेदनले नेपालको अर्थतन्त्रमा सुधारका संकेत देखाउँदै आगामी आर्थिक योजनाका लागि आधार प्रदान गरेको छ।
प्रतिक्रिया