वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तनाव व्यवस्थापन

बैंकिङ क्षेत्रमा तनाव व्यवस्थापन: कर्मचारीको मनोबल र उत्पादकत्व बढाउने उपायहरू

तनाव घटाएर कर्मचारी उत्प्रेरणा बढाउन आवश्यक रणनीति र सहायक उपाय

डा. दिबाकर वशिष्ठ
२०८१ कार्तिक २०, मंगलवार

बैंकिङ क्षेत्रमा विशेष गरी सरकारी स्वामित्वका साथै निजी बैंक तथा वित्तीय संस्थाहरूमा रोजगारीको क्रेज पछिल्लो समयमा युवाहरूमा निकै बढेको देखिन्छ। एकातिर बैंकमा प्रवेशको आकर्षण बढिरहेको छ भने अर्कोतिर एक अध्ययनले वित्तीय संस्थाहरूमा तल्लो तहका कर्मचारीहरू माथिल्लो तहबाट दमनमा परेको कर्मचारीको क्षमताभन्दा बाहिरका लक्ष्य तोकिएको सानो गल्तीमा पनि तल्लो तहका कर्मचारीहरूलाई मानसिक तनाव दिइने गरेको देखाएको छ। यसले गर्दा धेरै कर्मचारीहरू बैंकको जागिर छोडेर विदेश जाने वा डिप्रेशनमा जाने जोखिम बढेको छ । जसले कर्मचारीको उत्पादकत्व घट्न सक्ने चिन्ता थपिएको छ।

ध्यान दिनु पर्ने कुरा के हो भने पछिल्ला वर्षहरूमा १२ कक्षा सकेर विदेश जानेहरूको संख्या बढिरहेको छ। व्यवस्थापन अध्ययन गराउने विश्वविद्यालय र कलेजहरूमा विद्यार्थीको कमीले कतिपय कलेजहरू बन्द हुने अवस्थामा पुगेका छन्। बैंकहरूको विस्तार जारी रहे पनि व्यवस्थापन र अर्थशास्त्र पढ्ने विद्यार्थीको संख्या घट्दै गएकोले भविष्यमा बैंकिङ क्षेत्रमा आवेदन दिने जनशक्ति नै अभाव हुन सक्ने आशंका छ। त्यसैले बैंकिङ क्षेत्रसँग सम्बन्धित निकायले समयमा नै यो समस्याप्रति सचेत हुनु जरुरी छ ।

करियर बनाउने दृष्टिकोणले यो क्षेत्रलाई आकर्षक मानिए पनि विशेष गरी तल्लो तहका कर्मचारीदेखि माथिल्लो तहका राम्रो तलब भएका कर्मचारीसम्ममा निराशा बढिरहेको छ। जनशक्ति व्यवस्थापनमा देखिएको यो कमजोरीले भविष्यमा बैंकमा काम गर्ने योग्य व्यक्तिको अभाव हुने खतरा छ। कर्मचारीलाई तोकिएको लक्ष्यको सन्दर्भमा पनि निक्षेप संकलन, कर्जा लगानी र असुली जस्ता कार्यक्षमता बाहिरको दबाब दिइएको गुनासो व्यापक छ। विशेषगरी निजी क्षेत्रका बैंकहरूमा लक्ष पूरा नगरे जागिरको सुरक्षा नहुने र लक्ष पूरा गर्दा आर्थिक संकट र अस्वस्थ प्रतिस्पर्धा झेल्नुपर्ने अवस्था रहेको बताइन्छ।

बैंकिङ क्षेत्रमा सेवा दिने क्रममा मुस्कानसहितको सेवा प्रवाहको महत्वबारे विगतमा धेरै चर्चा भएको भए पनि हाल यो प्रयास झिनो देखिन्छ। बैंकका कर्मचारी प्रायः बिहान ८–९ बजेतिर कार्यालय पुग्नुपर्छ र साँझसम्म काम सकेर कहिले घर फर्किन पाइने भन्ने निश्चित हुँदैन। यसमा पनि विभिन्न खाले दबाबले प्रेरणामा कमी आएको देखिन्छ। जसले गर्दा मुस्कानसहितको सेवा दिने अपेक्षा गर्न कठिन भएको छ। यसका साथै कतिपय अवस्थामा ग्राहकबाट बैंकका कर्मचारीहरूप्रति दुर्व्यवहार भएको पनि सुनिन्छ। हाल बैंकिङ क्षेत्रमा करिब ९० हजार कर्मचारी विभिन्न पदहरूमा कार्यरत छन्।

नेपालमा बैंकिङ क्षेत्रमा फ्रन्ट डेस्कमा बस्ने कर्मचारीहरूको संख्या कुल जनशक्तिको करिब ४५ प्रतिशत छ भने ब्याक डेस्कमा बस्नेहरूको संख्या ६५ प्रतिशतको हाराहारीमा छ। विदेशी मुलुकमा भने यो प्रवृत्ति उल्टो देखिन्छ। जहाँ फ्रन्ट डेस्कमा बढी कर्मचारीलाई राखिन्छ। फ्रन्ट डेस्कका कर्मचारीहरू नियमित ग्राहकसँग प्रत्यक्ष सम्पर्कमा रहनुपर्छ, जसले गर्दा उनीहरूलाई ग्राहकसँग बढी अन्तरक्रिया गर्नुपर्ने हुन्छ। तर, नेपालको सन्दर्भमा फ्रन्ट डेस्क र ब्याक डेस्कमा बस्ने कर्मचारीहरूका बीचमा तलबमा खासै भिन्नता देखिदैन।

फ्रन्ट डेस्कका कर्मचारीहरूको कार्यभार धेरै हुँदा पनि ब्याक डेस्कका कर्मचारीहरूको तुलनामा उनमा बढी कामको दबाब हुन्छ। महामारी वा अन्य संकटका समयमा फ्रन्ट डेस्कमा कार्यरत कर्मचारीहरूलाई आलोपालो गरी काममा खटाउने व्यवस्था गरिन्छ तर यो प्रक्रिया समेत न्यून रहेको पाइएको छ। एकै प्रकृतिको काम लगातार गर्नुपर्दा कर्मचारीमा निराशा र तनाव बढ्दै गएको देखिन्छ।

बैंकिङ क्षेत्रलाई सुदृढ र जनविश्वासयुक्त बनाउन निक्षेप, तरलता व्यवस्थापन तथा शाखा सञ्जाल विस्तारसँगै कर्मचारीहरूको उत्प्रेरणा पनि अत्यन्तै महत्वपूर्ण छ। यदि यो क्षेत्रको कर्मचारी उत्प्रेरणा अभावले गर्दा उनीहरूमा तनाव बढ्दै जान थाल्यो र विदेश जाने बाध्यता सिर्जना भयो भने बैंकिङ क्षेत्र नै प्रभावित हुने जोखिम छ। घटनापछि सचेत हुनुभन्दा पहिले नै सम्बन्धित निकायले यसतर्फ ध्यान दिनु जरुरी छ।

हालका दिनमा कर्मचारीहरूबीच आर्थिक सुविधा, कामको स्पष्ट कार्यवर्णन र जवरोटेशनको अभावका कारण गुनासो व्यापक छ, जसले गर्दा बैंकिङ क्षेत्रको उत्पादकत्वमा कमी आएको छ। बढी जोखिम उठाउने शाखा कार्यालयका कर्मचारी र कम जोखिममा रहने केन्द्रीय कार्यालय वा क्षेत्रीय कार्यालयका कर्मचारीहरूको सेवा सुविधा र तलबमा भिन्नता नभएको पाइन्छ। खर्च कटौतीका नाममा केही बैंक तथा वित्तीय संस्थाहरूले न्यून तलबमा करार वा इन्टर्न राख्ने प्रवृत्ति अपनाएका छन्, जसले गर्दा जोखिमपूर्ण जिम्मेवारी लिन कर्मचारीहरू उत्सुक देखिदैनन्। इन्टर्नशिपको बढ्दो प्रचलनले साइबर अपराध लगायतका अपरेशनल जोखिम पनि बढ्न थालेका छन्।

केन्द्रीय वा क्षेत्रीय कार्यालयमा कार्यरत कर्मचारीहरूलाई शाखा कार्यालयमा काम गर्न जाँदा कठिनाइ हुने गरेको पाइन्छ। नातावाद, कृपावाद र यूनियनवादले बैंकिङ क्षेत्रमा जरा गाडेको हुँदा यसले कर्मचारीको मनोबल र उत्पादकत्वमा प्रत्यक्ष प्रभाव पारेको छ। स्रोत र साधनको अधिकतम उपयोग गर्दै क्षमताअनुसारको कार्यविभाजन, मित्रवत व्यवहार, सहभागितामूलक व्यवस्थापन र दुई पक्षीय सञ्चार प्रणालीको माध्यमबाट मानसिक तनावलाई केही हदसम्म कम गर्न सकिन्छ।

बैंकिङ क्षेत्रमा कर्मचारीहरूको तनावको कारण कार्य वातावरण, कार्य समय, कामको प्रकृति, कार्यवोझ, वृत्ति विकास, सम्बन्ध, संगठनको संस्कृति, अधिकार, कर्तव्य, र उत्तरदायित्वसँग सम्बन्धित छन्। अन्य कारणहरूमा आर्थिक अस्थिरता, राजनीतिक, सांस्कृतिक, आर्थिक र वातावरणीय प्रभावहरू पर्दछन्। विश्व मानचित्रमा आर्थिक कारोबारमा संलग्न संस्थाका रूपमा बैंकिङ क्षेत्रमा अत्यधिक तनाव देखिएको छ। जसले गर्दा कर्मचारीहरूमा अनिद्रा, उच्च रक्तचाप, मुटुरोग, क्यान्सर, मधुमेह, अत्यधिक थकान, असन्तुष्टि, मादक पदार्थमा निर्भरता, आत्महत्याको जोखिम, कार्यप्रेरणामा कमी, कार्यसम्पादनमा गिरावट र अन्य मानसिक समस्याहरू बढ्दै गएका छन्।

कर्मचारीहरूको मानसिक तनाव घटाउनका लागि नियमित उत्प्रेरणा र तालिमको व्यवस्था गर्नु अत्यावश्यक देखिन्छ।

प्रशासनिक दृष्टिले निश्चित स्तरको तनावलाई उपयुक्त मानिन्छ किनकि सामान्य तनावले व्यक्तिलाई प्रेरित गर्छ। सामान्य तनाव नलिने हो भने बैंकिङ जोखिमबाट बच्न र नाफा तथा उत्पादकत्व बढाउने अवसर गुम्न सक्छ। तनाव व्यवस्थापनको जिम्मेवारी तनावग्रस्त व्यक्तिले आफैं लिनुपर्छ। बैंकिङ कार्यभार र कार्यालय प्रमुखको निर्देशनजस्ता कारणले उत्पन्न हुने तनावलाई कम गर्नका लागि गहिरो निद्रा, सन्तुलित आहार, मनोरञ्जन, योग र व्यायाम, सकारात्मक सोच, आत्मनियन्त्रण, समय व्यवस्थापन, चिकित्सकको परामर्श, वर्तमानसँग रमाउने बानी, सकारात्मक सन्देश प्रवाह, अनुकूल कार्य वातावरण, सहभागितामूलक व्यवस्थापन, र स्पष्ट लक्ष्य प्रमुख उपाय हुन्। यसरी तनाव व्यवस्थापन गर्दा बैंकिङ जोखिम व्यवस्थापनको मेरुदण्ड बलियो रहन्छ।

त्यस्तै सामाजिक गतिविधिमा संलग्न भई खाद्य वितरण, खान नपाउनेलाई सहयोग गर्ने, पत्रिका र टेलिभिजनमा समाचार वा फिल्म हेर्ने जस्ता गतिविधिले पनि तनावलाई कम गर्न मद्दत पुर्‍याउँछ। खेतीपातीमा काम गर्ने, सकारात्मक सोचबारे लेख्ने, पढ्ने बानी बसाल्ने, परिवारसँग खेलकुद गतिविधि गर्ने, टेलिफोन, भिडियो च्याट, सामाजिक सञ्जाल, टेक्स्ट मेसेज वा इमेलमार्फत साथीभाइ र अन्य व्यक्तिहरूसँग संवाद गर्ने जस्ता क्रियाकलापले तनाव व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्छ। तनाव घट्दा प्रतिरोधात्मक क्षमता बलियो हुन्छ, जसले मनोबल वृद्धि गराई गुणस्तरीय सेवा दिन र बैंकिङ जोखिम कम गर्न सहयोग पुर्‍याउँछ।

विज्ञहरूका अनुसार, बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारीहरूले तनाव कम गर्न सात प्रमुख बुँदामा ध्यान दिन सक्छन्: आफ्नो तनावको कारण के हो, यसलाई कसरी नियन्त्रण गर्ने, तनाव व्यवस्थापनमा आउने कठिनाइ के हुन्, नकारात्मक सोचलाई तुरुन्त परिवर्तन गर्ने, सक्रिय जीवनशैली अपनाउने, सकारात्मक सोचको विकास गर्ने, र हल्लाको पछि नलाग्ने। अरूले काम नगरेको, कार्यालयको काममा ध्यान नदिएर युनियनको काममा मात्रै लागेको, चाकडी गरेर समय बिताएकोजस्ता नकारात्मक सोच राख्नुभन्दा कर्ममा विश्वास गर्ने र फलको अपेक्षा नगरी काम गर्ने बानीले आफ्नो व्यवसायिकता र भविष्य सुखद हुन्छ।

अवकाश पछि पनि तपाईँको व्यवसायिकताको कदर गर्दै विभिन्न जागिर अवसरहरू आउनेछन्, तर जसले काम चोरी गरेर तलब पाएको छ, ऊ भने भविष्यमा रोजगारीको कठिनाइ र आत्मग्लानिबाट ग्रस्त हुनेछ।

वर्तमानमा धेरै बैंकका साना कर्मचारीहरू आफ्नो तलबले परिवारको आवश्यक खर्च, बस्ने, खाने व्यवस्था, औषधोपचारको अभावजस्ता आर्थिक समस्याबाट तनावग्रस्त छन्। यस्तो अवस्थामा, यदि कार्यालय प्रमुखले अनावश्यक दबाब र तनाव सिर्जना गरे भने बैंकिङ क्षेत्रमा थप चुनौती उत्पन्न हुनेछ। यसका लागि स्रोत र साधनको उच्चतम परिचालन, मैत्रीपूर्ण व्यवहार, दक्षता र क्षमताअनुसार कामको वितरण, समय समयमा जवरोटेशन, र योग्यताको आधारमा उचित तलब व्यवस्थाजस्ता उपायले मात्रै कर्मचारीको तनाव कम गर्न र जागिर बीचमै छाड्ने प्रवृत्तिमा रोक लगाउन सकिन्छ।

लेखक बैंक तथा वित्तीय क्षेत्रका विज्ञ हुन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

डा. दिबाकर वशिष्ठ

डा. वशिष्ठ बैंकिङ क्षेत्रका जानकार हुन् ।