काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एनएमबि लघुवित्तले ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नोक्सानीमा रहेको संस्थाले ब्याज आम्दानी वृद्धि गर्दै नाफा कमाउन सफल भएको हो। गत वर्षको पहिलो त्रैमासमा ४ करोड ७३ लाख रुपैयाँ नोक्सानी व्यहोरेको संस्थाले यसपालि ८ करोड ८ लाख रुपैयाँको खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४०.८६ प्रतिशतले बढी हो।
संस्थाको खराब कर्जा अनुपातमा पनि सुधार आएको छ। अघिल्लो वर्षको सोही अवधिमा ७.२७ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर हाल ६.३७ प्रतिशतमा झरेको छ। यो सुधारसँगै लघुवित्तको सञ्चालन मुनाफा ७१ लाख ३९ हजार रुपैयाँ धनात्मक बनेको छ, जुन अघिल्लो वर्षको पहिलो त्रैमासमा ४ करोड ७० लाख ऋणात्मक थियो।
प्रतिसेयर आम्दानी (EPS) पनि नाफामा आएको छ। असोज मसान्तसम्म एनएमबि लघुवित्तको प्रति शेयर आम्दानी ३ रुपैयाँ ९७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ २४ पैसा र मूल्य आम्दानी अनुपात १८१.८६ गुणा रहेको छ।
७२ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी भएको यस लघुवित्तको जगेडा कोषमा २१ करोड ८१ लाख रुपैयाँ सञ्चित छ। संस्थाले यो अवधिसम्ममा ४ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
लेखकको बारेमा

प्रतिक्रिया