वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

म्याग्दीमा जलविद्युत्को फड्को : ११ आयोजना निर्माणाधीन, ३९० मेगावाट थपिने

अर्थलगानी
२०८१ फाल्गुन १४, बुधबार

म्याग्दीको विभिन्न खोलामा जलविद्युत् विकास तीव्र गतिमा अघि बढेको छ। हाल म्याग्दी खोला, राहुघाट र मिस्त्री खोलामा ११ जलविद्युत् आयोजना निर्माणाधीन छन्, जसले सम्पन्न भएपछि राष्ट्रिय प्रसारण लाइनमा थप ३९० मेगावाट विद्युत् प्रवाह गर्नेछन्।

पछिल्ला पाँच वर्षमा अन्नपूर्ण गाउँपालिकाबाट मात्रै चार आयोजना सम्पन्न भई १११ मेगावाट विद्युत् केन्द्रीय ग्रिडमा जोडिएको छ। थप दुई आयोजना एक वर्षभित्र सञ्चालनमा आउने तयारीमा छन्।

राहुघाट क्षेत्रमा ४० मेगावाटको राहुघाट जलविद्युत्, ३७.५ मेगावाटको मंगले राहुघाट, ४८.५ मेगावाटको माथिल्लो राहुघाट, २१.३ मेगावाटको ठूलो खोला जलविद्युत् आयोजना र २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलो खोला ‘ए’ जलविद्युत् आयोजनाले ७० देखि ९५ प्रतिशतसम्म भौतिक प्रगति गरिसकेका छन्।

रघुगंगा हाइड्रो लिमिटेडका प्रबन्ध निर्देशक गणेश केसीका अनुसार पहिरो र कमजोर भूगोलका कारण केही समयपछि धकेलिएको राहुघाट आयोजना अन्तिम चरणमा पुगेको छ। “भू-स्खलन, सामग्री अभावजस्ता समस्याहरू क्रमशः समाधान हुँदै छन्। केही महिनाभित्रै विद्युत् उत्पादन सुरु गर्ने योजना छ,” उनले बताए।

यसैगरी, म्याग्दी खोला जलाधार क्षेत्रका २५ मेगावाट क्षमताको दरबाङ म्याग्दी खोला आयोजना र ५३ मेगावाटको अपर म्याग्दी–१ ले टनेल निर्माणलाई तीव्रता दिएका छन्। माथिल्लो म्याग्दी खोला (३७ मेगावाट) र म्याग्दी खोला (५७ मेगावाट) आयोजनाले पहुँचमार्ग निर्माण पूरा गरी टनेल खन्न थालेका छन्।

धौलागिरि गाउँपालिकामा जलविद्युत् आयोजनाहरूको वृद्धि गाउँको भौतिक पूर्वाधार विकासका लागि पनि महत्वपूर्ण बनेको छ। “पहुँचमार्ग निर्माणसँगै स्थानीयहरूले यातायात सुविधा पाएका छन्। बिजुली उत्पादनपछि थप अवसरहरू सिर्जना हुनेछन्,” धौलागिरि गाउँपालिकाकी निवर्तमान अध्यक्ष थमसरा पुनले भनिन्।

कालीगण्डकी नदीमा समेत जलविद्युत् आयोजना तीव्र रूपमा अघि बढिरहेका छन्। १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज, ५० मेगावाटको मध्य कालीगण्डकी, ५८ मेगावाटको तिप्ल्याङ कालीगण्डकी, ६५ मेगावाटको अपर कालीगण्डकी, र ५०.५३ मेगावाटको बेनी कालीगण्डकी आयोजना निर्माण प्रक्रियामा छन्।

यद्यपि, कालीगण्डकी गर्ज आयोजनाले लगानी सुनिश्चित गर्न सकेको छैन भने बेनी कालीगण्डकी आयोजनाको ‘एलाइनमेन्ट’ म्याग्दी सदरमुकाम नजिक परेकाले स्थानीय अवरोधका कारण प्रक्रिया रोकिएको छ।

जलविद्युत् क्षेत्रको तीव्र विकासले म्याग्दीलाई नेपालको प्रमुख ऊर्जा स्रोत बनाउने सम्भावना बढाएको छ। स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यले परियोजनाहरू समयमै सम्पन्न भए, म्याग्दी नेपालकै ऊर्जा केन्द्रका रूपमा स्थापित हुन सक्ने विज्ञहरू बताउँछन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी