काठमाडौं । इलेक्ट्रिक सवारी साधन उद्योगमा अग्रणी कम्पनी बीवाईडी अटो इन्डष्ट्रिले ग्लोबल रिसाइक्लिङ डेको अवसर पारेर ब्याट्री रिसाइक्लिङ र पुनः प्रयोग कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छ । यो पहलले बीवाईडीको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाउँदै इलेक्ट्रिक मोबिलिटी इकोसिस्टमलाई अझ सुदृढ बनाउने लक्ष्य लिएको छ ।
उत्तरदायी ब्याट्री व्यवस्थापनमा बीवाईडीको अग्रसरता
इलेक्ट्रिक सवारीसाधनको लोकप्रियता बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा प्रयोग भइसकेका ब्याट्रीको उचित व्यवस्थापन महत्वपूर्ण विषय बनेको छ । यही आवश्यकतालाई मध्यनजर गर्दै बीवाईडीले दुई प्रमुख रिसाइक्लिङ सेवा प्रदायक कम्पनीहरूसँग सहकार्य गरेको छ । अमेरिकाको क्यालिफोर्नियामा अवस्थित ‘आईटी एसेट पार्टनर्स इंक’ (IT Assers Partners Inc.) र चीनको ‘एन्हुई लेचेङ लिथियम–आयोन टेक्नोलोजी’ (Anhui Lecheng Lithium Ion Technology) मार्फत बीवाईडी ईभीमा प्रयोग भएका लिथियम–आयोन ब्याट्रीलाई सुरक्षित, वातावरणमैत्री र प्रभावकारी रूपमा रिसाइक्लिङ गर्ने व्यवस्था मिलाएको छ ।
सर्कुलर इकोनोमीको अवधारणामा बीवाईडीको प्रतिबद्धता
बीवाईडीको नयाँ ब्याट्री रिसाइक्लिङ प्रणाली ‘सर्कुलर इकोनोमी’ अवधारणामा आधारित छ, जसले फोहोर ब्याट्रीलाई वैज्ञानिक विधिबाट पुनः प्रयोग गर्न मिल्ने बनाउँछ । कम्पनीले अपनाएको प्रक्रिया अन्तर्गत ब्याट्रीको क्यापासिटी टेस्टिङ, सुरक्षित डिस्म्यान्टलिङ (विघटन), महत्वपूर्ण धातुहरू पुनः प्राप्त गर्ने (मेटेरियल रिकभरी) र वातावरणमैत्री प्रक्रियामार्फत पुनः प्रयोगयोग्य सामग्री उत्पादन गर्ने कार्य गरिन्छ ।
बीवाईडीले लिथियम, निकेल, कोबाल्टजस्ता बहुमूल्य सामग्रीहरू फोहोर हुन नदिई पुनः प्रयोगको सुनिश्चितता गरेको छ, जसले प्राकृतिक स्रोतको संरक्षण गर्नुका साथै इलेक्ट्रोनिक फोहोर न्यूनीकरण गर्ने लक्ष्य राखेको छ ।
नेपालका लागि यसको महत्त्व
नेपालमा इलेक्ट्रिक सवारीसाधनको प्रयोग बढ्दो क्रममा छ । यस्तो अवस्थामा ब्याट्रीको दिगो व्यवस्थापनको विषय अत्यन्तै संवेदनशील बन्न पुगेको छ । बीवाईडीको यो पहलले नेपालमा पनि दिगो ईभी प्रवर्द्धनका लागि सकारात्मक सन्देश दिन्छ ।
नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठका अनुसार, ‘इलेक्ट्रिक सवारीसाधनको उत्पादन मात्र दिगोपनको ग्यारेन्टी होइन, त्यसको उत्तरदायी पुनः प्रयोग र रिसाइक्लिङ पनि अत्यावश्यक छ । हाम्रो यो अभियानले नेपाललाई हरित यातायातको दिशामा अगाडि बढाउनेछ ।’
प्रतिक्रिया