काठमाडौं। बाह्य रुपमा चम्किला देखिने बैंकहरूको भित्री संरचना भने दिनानुदिन खोक्रिँदै गएको छ। वर्षौंसम्म ‘सुशासित’, ‘सबल’ र ‘सम्पन्न’ भनेर प्रचारित गरिएका वाणिज्य बैंकहरूको गैरसञ्चालक कर्जा (एनपिएल) अस्वाभाविक रूपमा वृद्धि हुँदै गएको तथ्यांकले स्पष्ट पारेको छ।
नेपाल राष्ट्र बैंकले गत फागुन दोस्रो साता एनपिएलमा राखिएको ५ प्रतिशतको अघोषित सीमा हटाई ८ प्रतिशतसम्म जोखिमरहित मान्ने नीति ल्याएपछि बैंकहरूले पहिलोपटक खुला रूपमा वास्तविक एनपिएल सार्वजनिक गर्न थालेका छन्। नतिजास्वरूप चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ९ वटा वाणिज्य बैंकको एनपिएल ५ प्रतिशतभन्दा माथि पुगेको छ, जसमा कतिपयको एनपिएल ७.६४ प्रतिशतसम्म पुगेको देखिन्छ।
यसअघि बैंकहरूलाई राष्ट्र बैंकले विभिन्न सुविधाबाट बञ्चित गर्ने डर देखाई ५ प्रतिशतभन्दा कम एनपिएल देखाउन दवाव दिँदै आएको थियो। यसले बैंकहरूलाई ऋण असुलीको वास्तविकता भन्दा ‘एभरग्रिनिङ’ र रिकभरी म्यानेज गर्न अभ्यस्त बनाएको थियो। ऋण असुल नभएको अवस्थामा पनि नयाँ ऋण दिई पुरानोको साँवा र ब्याज फछ्र्योट गरिएको, चौथो त्रैमासमा आक्रमक रूपमा असुल गरी देखावटी सुधार गरिएकोजस्ता प्रवृत्ति द्रुत गतिमा बढेका थिए।
तर नियामकले नयाँ गाइडलाइन ल्याएर वास्तविकता देखाउन सजिलो बनाएको भन्दै बैंकहरू अहिले ‘जति छ, त्यति देखाउने’ अवस्थामा पुगेका छन्।
राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलका अनुसार एनपिएलमा देखिएको वृद्धि बैंकहरूको कमजोरी मात्रै नभएर समग्र अर्थतन्त्रको मन्दीको संकेत पनि हो। “हामीले अहिले प्रोभिजनमा कुनै सम्झौता गरेका छैनौं,” प्रवक्ता पौडेल भन्छन्, “बैंकहरूले अहिले देखाएको एनपिएल नै वास्तविकता हो। पूर्ववर्षहरूमा यो सत्य लुकाइएको थियो।”
एनपिएलले खोलिदियो बैंकहरूको अन्तरद्वन्द्व
विगतमा एनपिएल न्यून देखाएर मुनाफा बढी देखाउने प्रवृत्ति अहिले समाप्त हुँदै गएको छ। बैंकिङ क्षेत्रका विश्लेषकहरूका अनुसार हाल देखिएको एनपिएल वृद्धि बैंकहरूको वास्तविक वित्तीय अवस्था झल्काउने सूचक हो। एनपिएलमा वृद्धि हुनु भनेको कर्जा फिर्ता हुने दरमा गिरावट हुनु हो, जुन अन्ततः बैंकको तरलता, मुनाफा र लगानीकर्ताको विश्वासमा असर पार्ने खतरा बोक्दछ।
तर केही बैंकहरूले भने यसलाई सकारात्मक रूपमा लिएका छन्। नबिल बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञावली भन्छन्, “एनपिएल देखिए पनि त्यसमा आवश्यक प्रोभिजन बनाइएको छ, भोलि ऋण उठेपछि राइटब्याक हुने भएकाले अहिले देखिएको वृद्धि लामो समयको संकट होइन।”
२०७९ मा वाणिज्य बैंकहरूको औसत एनपिएल पहिलो त्रैमासमा १.८३ प्रतिशत थियो भने चौथो त्रैमासमा घटेर २.९८ प्रतिशतमा सीमित भएको थियो। त्यस्तै २०८० मा पनि एनपिएल चौथो त्रैमासमा उल्लेख्य रूपमा घटाइएको थियो। यसले स्पष्ट देखाउँछ– बैंकहरूले अन्तिम त्रैमासमा आक्रमक रिकभरी गरेर एनपिएल व्यवस्थापन गर्दथे।
तर, चालु आर्थिक वर्षमा भने पहिलो त्रैमासमा ४.२८, दोस्रोमा ४.७३ र तेस्रो त्रैमासमा ४.८३ प्रतिशत पुगिसकेको छ। यसले स्पष्ट संकेत गर्छ कि विगतमा जस्तो कृत्रिमरूपमा एनपिएल घटाउने अभ्यास अब घट्दै गएको छ।
प्रतिक्रिया