हेटौंडा| विद्युतीय सवारी साधन (ईभी) चार्ज गर्न अत्याधुनिक सुविधा सम्पन्न सुपरफास्ट चार्जिङ स्टेशन अब हेटौंडामा सञ्चालनमा आएको छ। बागमती प्रदेशको राजधानी हेटौंडामा स्थापना गरिएको यो चार्जिङ स्टेशन नेपालमै पहिलोपटक सार्वजनिक रूपमा सुपरफास्ट सेवासहित सञ्चालनमा आएको हो।
विद्युत ट्रान्सफरमर उत्पादनमा क्रियाशील कम्पनी ‘निक’ ले चिनियाँ प्रविधि कम्पनी Huawei सँग सहकार्य गरी यो चार्जिङ सुविधा स्थापना गरेको हो। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सोमबार एक विशेष कार्यक्रमबीच यसको उद्घाटन गरे।
मुख्यमन्त्री लामाले हरित यातायातको विकास र स्वदेशी जलविद्युतको उपयोगलाई प्रवर्द्धन गर्न यस्ता प्रविधि अनिवार्य रहेको बताए। उनले प्रविधिको विकाससँगै रोजगारी सिर्जना र आन्तरिक अर्थतन्त्र सुदृढ हुने उल्लेख गर्दै प्रदेशभर यस्ता चार्जिङ स्टेसन विस्तार गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले ‘हरित हेटौंडा’ अवधारणालाई व्यवहारमा उतार्न चार्जिङ स्टेशनले सहयोग पुर्याउने विश्वास व्यक्त गरिन्।
चार सय किलोवाट क्षमताको यस चार्जिङ स्टेशनमा पाँचवटा चार्जिङ पोइन्ट छन् जसबाट विद्युतीय सवारी ५ देखि १५ मिनेटभित्र पूर्ण रूपमा चार्ज गर्न सकिनेछ। स्टेशनमा सौर्य ऊर्जा प्रणालीसमेत जडान गरिएको छ, जसले वातावरणमैत्री प्रविधिको नमूना प्रस्तुत गरेको छ।
निक कम्पनीका प्रबन्ध निर्देशक कुशकुमार जोशीका अनुसार, सुपरफास्ट चार्जिङ सेवा सुरुवातले विद्युतीय सवारीको प्रयोगलाई थप सहज बनाउँदै देशभर ईभी इन्फ्रास्ट्रक्चरको विस्तारलाई गति दिनेछ। कार्यक्रममा Huawei नेपालका प्रमुख जेम्स, उद्योग परिसंघ बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेल, उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष प्रमोदसिंह रानाभाटलगायतको उपस्थिति रहेको थियो।
यो चार्जिङ स्टेशनले विद्युतीय यातायातको विकासमा नयाँ युगको सुरुवात गरेको भन्दै विज्ञहरूले समेत सकारात्मक प्रतिक्रिया दिएका छन्।
प्रतिक्रिया