काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकका परिवारलाई तीन लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ।
शनिबार पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा काठमाडौंको माइतीघर मण्डलामा आयोजित कार्यक्रममा कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले उक्त सहयोगको घोषणा गरेका हुन्। उनले यो निर्णय पार्टीको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको बताए।
गत चैत १५ गते तीनकुनेमा आयोजित राजावादी आन्दोलनको समाचार संकलनका क्रममा एभिन्युज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजकको आगोमा परी जलेर मृत्यु भएको थियो। पत्रकार रजकको निधनप्रति रास्वपाले गहिरो दुःख व्यक्त गर्दै उनको परिवारप्रति समवेदना प्रकट गरेको छ।
पार्टी नेतृत्वमा नयाँ जिम्मेवारी
तेस्रो स्थापना दिवसको अवसरमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले कविन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनीष झालाई प्रवक्ता नियुक्त गर्ने निर्णयसमेत गरेको छ।
यसअघि दुबै नेता क्रमशः कार्यवाहक महामन्त्री र कार्यवाहक प्रवक्ताको भूमिकामा रहेका थिए। पार्टी प्रवक्ता झाका अनुसार बैठकका अन्य निर्णयहरूबारे शनिबार बिहान ११ बजे आधिकारिक प्रेस विज्ञप्तिमार्फत जानकारी गराइनेछ।
प्रतिक्रिया