काठमाडौं | बहुप्रतीक्षित फोल्डेबल स्मार्टफोन निर्माणको तयारीमा रहेको प्रविधि कम्पनी एप्पलले सन् २०२६ को दोस्रो अर्धवार्षिक (अन्त्यतिर) मा आफ्नो पहिलो फोल्डेबल आइफोन सार्वजनिक गर्ने भएको छ।
चर्चित एप्पल विश्लेषक मिङ-ची कुओले सार्वजनिक गरेको सप्लाई चेन एनालिसिस रिपोर्टअनुसार एप्पलले फोल्डेबल डिस्प्ले निर्माणका लागि सामसङ डिस्प्लेसँग सहकार्य गर्ने भएको छ। रिपोर्टअनुसार आवश्यक डिस्प्ले प्यानल खरिद प्रक्रियामा एप्पलले पहिले नै पहल गरिसकेको छ।
फक्सकनले उत्पादन प्रक्रिया २०२५ बाट सुरु गर्ने
फोल्डेबल आइफोनको एसेम्बली जिम्मा एप्पलको प्रमुख उत्पादन साझेदार फक्सकनलाई दिइएको छ। फक्सकनले सन् २०२५ को तेस्रो वा चौथो त्रैमासिकबाट परियोजनामा काम सुरु गर्नेछ भने यसको मास प्रडक्सन २०२६ को दोस्रो अर्धवार्षिकबाट सुरु हुने सम्भावना छ।
‘लिक्विड मेटल’ हिन्ज सहित नयाँ डिजाइन, मूल्य उच्च हुने संकेत
फोनमा ‘लिक्विडमेटल’ प्रविधियुक्त हिन्ज प्रणाली प्रयोग गरिने बताइएको छ, तर अन्य पाटपुर्जाहरूको डिजाइन अझै अन्तिम चरणमा पुगिसकेको छैन। फोनको डिस्प्ले स्पेसिफिकेसन भने निर्धारण भइसकेको र सामसङ डिस्प्लेमार्फत आपूर्ति हुने पुष्टि भएको छ।
विश्लेषक कुओका अनुसार एप्पलले प्रारम्भिक चरणमा ७० देखि ८० लाख युनिट डिस्प्ले प्यानल अर्डर गरिसकेको छ। कुल उत्पादन लक्ष्य १.५ देखि २ करोड युनिटसम्म राखिएको छ, जुन फोनको २–३ वर्षे जीवनचक्र अवधिको मागलाई ध्यानमा राखेर तय गरिएको हो।
यद्यपि, विश्लेषणमा उल्लेख गरिएअनुसार फोनको मूल्य अत्यधिक महँगो हुने भएकाले एप्पलले २०२६ भित्रै डेढ करोड युनिट बिक्री गर्ने सम्भावना न्यून रहेको छ।
प्रतिक्रिया