काठमाडौँ | चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले मोबाइल फोन आयातबाट ५ अर्ब ९९ करोड रुपैयाँभन्दा बढी भन्सार राजस्व संकलन गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा १९ लाख ७५ हजारभन्दा बढी मोबाइल सेट नेपाल भित्रिएका छन्।
उक्त मोबाइलहरूको कूल भन्सार मूल्य ३२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा १७ लाख मोबाइल सेट आयात हुँदा ४ अर्ब ९० करोड रुपैयाँ राजस्व संकलन भएको थियो। यो आधारमा चालु वर्ष मोबाइल आयातमा करिब ५ अर्ब ७५ करोड रुपैयाँको वृद्धि देखिएको छ।
चीन र भारत मुख्य आपूर्तिकर्ता
मोबाइल आयातमा चीन अग्रस्थानमा रहेको छ। चालु आर्थिक वर्षको ११ महिनामा १५ लाख ७० हजार मोबाइल सेट चीनबाट आयात भएका छन्, जसको भन्सार मूल्य २२ अर्ब २२ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, भारतबाट ३ लाख ९७ हजार मोबाइल सेट भित्रिएकोमा भन्सार मूल्य ९ अर्ब २९ करोड रुपैयाँ रहेको विभागले जनाएको छ।
स्मार्टफोनप्रति आकर्षण, बारफोनको माग घट्दै
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार, हालसम्म २ करोड ९२ लाख ८५ हजारभन्दा बढी मोबाइल प्रयोगकर्ता रहेका छन्। उपभोक्ताहरू २० देखि ३५ हजार रुपैयाँ मूल्यको स्मार्टफोन रोज्ने गरेका छन्।
मोबाइल आयातकर्ताहरूका अनुसार, बारफोनको प्रयोग घट्दै गएको र स्मार्टफोनको माग तीव्ररूपमा बढेको छ। यसले मोबाइलको संख्याभन्दा आयात मूल्यमा उल्लेखनीय वृद्धि ल्याएको छ।
प्रतिक्रिया