काठमाडौँ। “प्रविधियुक्त सेवा र सुशासनः दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन” भन्ने सोच सहित सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी २०७९ यही फाल्गुन २४ र २५ गते काठमाडौंको होटल द सोल्टीमा आयोजना हुँदैछ । यस संघको आयोजना र नेफ्स्कून साकोस म्यानेजर्स क्लबको व्यवस्थापनमा हुन गइरहेको उक्त गोष्ठीका लागि ३५० भन्दा बढी साकोसका व्यवस्थापकहरुले रजिष्ट्रेशन गरिसकेका छन्।
नेपालका वित्तीय सहकारीका व्यवस्थापकीय प्रमुखहरुलाई समेटी गोष्ठीको आयोजना गरी प्राप्त उपलव्धीका सन्देशहरुको प्रवाह गर्दै जानु नेफ्स्कूनको दायित्व भएकोले प्रथम र दोस्रो गोष्ठीको सिकाई र व्यवस्थापन प्रमुखहरुको माग एवम् आवश्यकताको आधारमा यो गोष्ठी आयोजना गर्न लागिएको हो । उपलव्ध श्रोत र साधनलाइ दृष्टिगत गरी वित्तीय सहकारी क्षेत्रका व्यवस्थापकीय तहमा कार्यरत कर्मचारी, नियमनकारी निकाय, सम्बन्धित सरोकारवाला एवम् विकासक्षेत्रका सहयात्रीहरु समेतको प्रतिनिधित्व रहने गरी करिब ४५० जना भन्दा बढी सहभागिता रहने व्यवस्था मिलाइएकोछ ।
गोष्ठीको उद्देश्यहरु ः
क. वित्तीय सहकारीको दर्शन र मुल्यमा आधारित व्यवसायिक जनशक्ति विकास गर्नु,
ख. विश्वव्यापी नविनतम अभ्यास, अनुभव र सिकाईहरु मार्फत ज्ञान, सीप र प्रविधिको अवलम्बन एवम् हस्तान्तरण गर्नु,
ग. राष्ट्रियस्तरमा भएका नविनतम र सफल अभ्यासहरु आदानप्रदान गर्नु,
घ. वित्तीय सहकारीका लागि विकास गरेका नविनतम औजार र समाधानहरुको आन्तरिकीकरणको लागि दिशानिर्देश गर्नु,
ङ. कार्यरत जनशक्तिको उत्प्रेरणामार्फत तनाव रहित वातावरणमा कार्यसम्पादनका लागि प्रेरित गर्नु,
च. वित्तीय सहकारीको विकासका सम्भावना पहिचान गरी कार्यान्वयन गर्न अभिप्रेरित गर्नु,
छ. वित्तीय सहकारीलाई उत्पादनमा आधारित लगानीमा प्रोत्साहित गर्नु,
ज. वित्तीय सहकारीलाई आकर्षक रोजगार प्रवद्र्धक क्षेत्रको रुपमा स्थापित गर्नु,
झ. वित्तीय सहकारीको योजना विकास र छवी निर्माणको लागि साझा घोषणा जारी गर्नु, रहेको छ ।
गोष्ठीमा राष्ट्रियदेखि विश्व सञ्जालहरु विश्व ऋण परिषद् (अमेरिका), एसियाली ऋण महासंघ (थाइल्याण्ड), नेपाल राष्ट्र बैंक र नेपालको आर्थिक विकासमा सहकारी क्षेत्रलाई सफल माध्यम बनाउन अतुलनीय योगदान गर्नुहुने विद्वतहरुबाट विभिन्न ७विषयमा कार्यपत्रहरु प्रस्तुत हुनेछन् ।
गोष्ठीमा ७ वटै विषयका सामुहिक सत्र सञ्चालन गरिनेछ । पहिलो दिन वर्तमान परिदृश्यमा दिगो साकोस अभियानको लागि जिम्मेवार व्यवस्थापन र संघको भूमिका, वित्तीय सहकारीको छवी निर्माणः समावेशी संरचना र प्रविधि हस्तान्तरण, विश्व अर्थतन्त्रः वित्तीय सहकारीमा प्रभाव, सम्भावना र चुनौती गरी ३ विषयहमा प्रस्तुती रहने छन् ।
दोस्रो दिन मानव संशाधन व्यवस्थापनका सामयिक/समवर्ती सवालहरु र नेपालमा सफल साकोसका अनुभवहरु, वित्तीय प्रविधिमा साकोसका सम्भावना र चुनौतीहरु, वित्तीय सहकारी ऐनको अन्तर्राष्ट्रिय अभ्यास र नेपालको आवश्यकता, ईमोशनल एण्ड स्पिरिचुअल ईन्टेलिजेन्स ईन म्यानेजर्स सम्बन्धी ४ विषयवस्तुमा सामुहिक सत्र सञ्चालन हुनेछन् ।
२०७३ सालबाट साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी सञ्चालन शुरुवात गरेको नेफ्स्कूनले प्रत्येक तीन बर्षको अन्तरालमा नियमित सञ्चालन गर्दै आइरहेको छ ।
राष्ट्रिय गोष्ठीको सफलताको लागि नेफ्स्कूनसँग साझेदारी वा सहयोग गर्न चाहने संघ÷संस्थाहरूको पनि आर्थिक सहयोग रहनेछ ।
विश्वव्यापी आर्थिक मन्दीको अवस्था, नेपालको समग्र वित्तीय अवस्था र विशेषतः नेपालको सहकारी अभियान तरलताको दवावमा रहेको अवस्थामा राष्ट्रिय गोष्ठी आयोजना गर्दा विभिन्न क्षेत्रबाट सकारात्मक र नकारात्मक प्रतिक्रिया आइरहेको तर्फ पनि हामी सचेत एवम् सजग नै छौं । सहकारी अभियानमा तरलता व्यवस्थापनको केहि सन्तुलन बिग्रिएको अवश्य नै हो, तर अभियान समस्यामा नै पर्यो कि भन्ने सोच, सञ्चार माध्यमहरुको प्राथमिकता र सदस्यहरुले आफ्नो संस्थाको बारेमा यथार्थ नबुझी प्रतिक्रियात्मक बन्दाको परिणाम अहिलेको अवस्था हो । वित्तीय सहकारी क्षेत्रमा दवाव सुरु हुँदा सँगै यस्तो गोष्ठी आयोजना गर्न सकिएको भए हालको चुनौतीलाई सुरुवातीमा नै व्यवस्थापन गर्न सहज हुने थियो भन्ने हाम्रो विश्वास हो । अभियानका सञ्चालक र व्यवस्थापन पक्ष सदस्यहरुतर्फ फर्किने र वित्तीय स्रोतहरुको प्रभावकारी व्यवस्थापन सहित सेवा प्रवाह गर्न सकेमा यस्ता चुनौतीहरुको सहज समाधान गर्न सकिन्छ भन्ने हाम्रो मान्यता रहेको छ । व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठीले यस्तै विषयहरुमा विज्ञहरु मार्फत समाधान प्रस्तुत गर्ने जमर्को गरेको छ । त्यसैले यसको सकारात्मक सन्देश प्रवाह गर्नु सम्पूर्ण सरोकारवाला पक्षहरुको पनि दायित्व हो र आमसञ्चार माध्यमहरुलाई सकारात्मक सन्देश सम्प्रेषणको लागि आग्रह गर्दछौ ।
प्रतिक्रिया