काठमाडौँ। उद्योग वाणिज्य महासंघका अध्यक्ष एवम् कार्यकारिणी समितिले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेको छ।
उक्त भेटघाटमा मुलुकको वर्तमान आर्थिक समस्या र समाधानका उपायहरुको बारेमा छलफल गरिएको महासंघले जनाएको छ।
छलफलको क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा नीजि क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भएमात्र देशको आर्थिक विकास संभव हुने बताए।
पौडेलले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवम् कार्यकारिणी समितिसमितिसंगको भेटमा विद्यमान आर्थिक अवस्थाका सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको वताए।
उनले भने, “यही तथ्यलाई ध्यानमा राखेर सरकार र नीजि क्षेत्रबीच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी आवश्यक छ भन्ने मलाई लाग्छ ।”
नेपालको अर्थव्यवस्थामा नीजि क्षेत्रको ८० प्रतिशतभन्दा बढी हिस्सा रहेको भन्दै उहाँले अर्थतन्त्रमा देखिएको समस्याले अहिले आर्थिक गतिविधिलाई सुस्त बनाएको उनको बुझाई थियो।
राष्ट्रपति पौडेल उद्योगी व्यवसायीहरूले अहिले असजिलो परिस्थितिको सामना गरिरहनुपरेको यथार्थबारे आफु अनभिज्ञ नरहेको स्पष्ट पारे।
“रोजगारी सृजना हुन नसक्नु, विपे्रषणमा निर्भरता बढ्दै जानु, निर्यात घट्दै जानु, नीतिगत सुधार र सामन्जस्यता नहँुदा आन्तरिक तथा विदेशी लगानी बढ्न नसक्नु, सेवा प्रवाहमा बेला बेलामा विध्न बाधा देखा पर्ने गरेका छन्। यसैले गर्दा मूल्य वृद्धि लगायत साना र मझौला उद्योगहरू समस्याग्रस्त हुँदै जाने यो अवस्थामा नीजि सार्वजानिक साझेदारी बाञ्छनीय छ भन्ने मलाई लाग्छ”, उनले भने।
उनले नेपालमा रोजगारी सृजना गर्न र देशको अर्थतन्त्र सुधार्न सबैको ध्यान जानुपर्नेमा जोड दिँदै केही दिन अगाडि आफुले बोलाएको सर्वदलीय बैठकमा समेत अर्थतन्त्र सुधारका लागि सवैको ध्यानाकर्षण गराएको बताए। उनले भने– “धेरै राजनीतिको तानावानामा नअल्झिकन मुलुकको आर्थिक अवस्था सुदृढ गर्नका लागि सबैको ध्यानाकर्षण गराएको छु ।” राष्टपति पौडेलले महासंघसंग पहिले नै भेटन चाहेकोमा हाल स्वास्थ्य सुधार भएकाले भेट केहि ढिला सम्भव भएको वताए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रका केही सुचकहरू सकारात्मक रहेपनि आम नागरिक र व्यवसायीहरूको आत्मविश्वास बढाएर अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ सरोकारवालाले ध्यान जानुपर्ने बताए।
भेटका अवसरमा अध्यक्ष ढकालले निजी क्षेत्र र सर्वसाधारणको मनोबल घटेका अहिलेको अवस्थामा बजारमा माग सिर्जना गर्न सरकार, केन्द्रिय बैंक र निजी क्षेत्रले एक आपसमा सहकार्य गर्नुपर्ने वताए।
सरकारले पूँजीगत खर्च गर्न नसकेको र बैंक वित्तिय संस्थाहरुबाट पनि कर्जा प्रवाह हुन नसकेको अवस्थामा बजारमा मागको कमी आएको छ । यस्तो अवस्थामा पूँजीको लागत कम गरि लगानी बढाउन निजी क्षेत्रलाई हौसला आवश्यक रहेको धारणा अध्यक्ष ढकालको थियो ।
व्यवसाय सत प्रतिशत चल्न सक्ने आधारमा राजश्वको लक्ष्य राखिएको हुन्छ । तर व्यवसाय दुइ तिहाइ खुम्चिदा करिब पाँच दशकपछि अघिल्लो बर्षभन्दा कम राजश्व संकलन भएको छ । यससंगै सरकारी लक्ष्यभन्दा ६ प्रतिशत विन्दुले कम आर्थिक वृद्धि हासिल भएको छ । त्यसैले पूँजीको लागत घटाइ बजारमा रकम प्रवाह गर्नुपर्ने धारणा अध्यक्ष ढकालको थियो ।
यसैगरि अध्यक्ष ढकालले निर्यात प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण गर्न र पर्यटन प्रवद्र्धनमा विशेष पहल आवश्यक रहेको वताए।
महासंघका पदाधिकारी लगायत कार्यकारिणी समितिले सम्माननीय राष्टपति समक्ष भेट गरेको हो । सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्रको सुधारका लागि सबै क्षेत्रबाट पहल आवश्यक रहेको बताए । उपाध्यक्ष हेमराज ढकालले यसपटक आर्थिक मन्दीका कारण सबै क्षेत्र प्रभावित रहेकोले तत्काल सुधार आवश्यक रहेको बताए।
प्रतिक्रिया