नेपाल पत्रकार महासंघसंगको सहकार्यमा बैंक तथा वित्तीय संस्था परिसंघ र नेपाल बिजनेस इन्टिस्च्युटले पत्रकारहरुबिच राष्ट्रब्यापी लेख लेखन प्रतियोगीता नेशनवाइड जर्नालिष्ट फेलोशिप पोग्राम –२०२३ शुरु गरेका छन् । वर्तमान अवस्थामा देखिएका आर्थिक समस्याहरुको समाधान र यसको रोडम्यापबारे राष्ट्रियस्तरमा बहस पैरवी गर्दै समाधानको निचोड निकाल्नका लागि प्रतियोगीता आयोजना गरिएको आयोजकले जनाएका छन् ।
वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र विषयमा २५०० शब्द नबढ्ने गरी देशभरका पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु र स्तम्भकारहरुले लेख पठाउन सक्ने नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेलले जानकारी दिए।
उत्कृष्ट १५ लेखका लेखकलाई सम्माननीय प्रधानमन्त्रीज्यूको हातबाट प्रमाणपत्रका साथै प्रथम, द्वितिय, तृतीय, चौथो र पाँचौ पुरस्कारकारुपमा क्रमशः रु. १ लाख, रु.७५ हजार, रु. ५० हजार, रु.२५ हजार र रु.१५ हजारका दरले सम्मान गरिने छ । साथै उत्कृष्ट १० लेखलाई प्रति लेखबापत रु. १० हजारका दरले नगद तथा प्रमाणपत्रमार्फत प्रोत्साहन रकम उपलब्ध गराइने आयोजकले जनाएका छन् ।
नेपाल सरकारसहितको सहभागीतामा २०८० साल बैशाख पहिलो हप्ता काठमाडौंमा आयोजना हुने नेपाल बिजनेस समिटको पुर्वसन्ध्यामा जर्नालिष्ट फेलोसिप कार्यक्रम आयोजना गरिएको नेपाल बिजनेस इन्स्टिच्युटका अध्यक्ष विशाल गैरले जानकारी दिनु भयो । उहाँका अनुसार अर्थतन्त्रका प्रमुख चुनौती, अवसर र भावी रोडम्यापबारे पत्रकारहरुकोे सृजनशील क्षमताबाट प्राप्त लेखलाई प्रोत्साहन गरी राष्ट्रिय अर्थतन्त्रको सबलीकरण गर्ने उद्देश्यले यो प्रतियोगीता आयोजना गरिएको हो ।
नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कुनै पनि सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले यो प्रतियोगीतामा भाग लिन सक्ने बताए। उनका अनुसार सहभागी पत्रकारले आफु कार्यरत सञ्चार माध्यमको पुष्टि हुने पत्रकार परिचय पत्र, नियुक्ती पत्र वा मिडिया हाउसको पत्र (कुनै एक) सहित कतै पनि प्रकाशित नभएको खोजमुलक र तथ्यपरक लेख अनलाइनमार्फत २०७९ साल चैत्र १३ गतेभित्र https://nepalbusinesssummit.com/article-competition मा गएर आवेदन दिन सकिने छ ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का महानिर्देशक डा. गोपाल तिवारीले लेखको मौलिकता, तथ्यपरकता र लेखले औल्याएका भावी मार्गदर्शनलाई छनौटको आधार बनाइने जानकारी दिए।
अनलाइन माध्यमबाट प्राप्त लेखहरुलाई ५ सदस्यीय छनौट समितिले विभिन्न मापदण्डका आधारमा छनौट गर्नेछ र छनौट भएका उत्कृष्ट लेखहरुलाई नेपाल बिजनेस समिटको समुद्घाटन सत्रमा सम्माननीय प्रधानमन्त्रीज्यूको हातबाट पुरस्कृत गरिने जनाइएको छ ।
प्रतिक्रिया