दाङ । दाङ तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । शिव शिखरको उक्त शाखा एक महिनादेखि बन्द छ। कार्यालय बन्द हुँदा रकम झिक्न दिनदिनै बचतकर्ता पुग्ने र फर्कने गरेका छन्।
सोही सहकारीमा तुलसीपुरको बिपी चोकका फलफूल व्यवसायी तुलसी नेपालीको एक लाख २७ हजार बचत छ । उनले अब त्यो पैसा पाउने आशा मरिसकेको बताउँछन्। “एक महिना भयो सहकारी बन्द भएको, फोन गर्छौ दुई÷चार दिनमा खुल्छ भन्न लागेको धेरै भइसक्यो”, उनले भने, “साहुलाई पैसा तिर्नुपर्ने थियो, निकै गाह्रो भएको छ ।”
शिव शिखरमै तुलसीपुर–५ जेसिजचोकमा फलफूल व्यवसाय गर्ने चन्द्रकली विकको ६० हजार बचत छ । त्यही बचत फिर्ता लैजानका लागि पटक–पटक कार्यालय पनि पुग्नुभयो । तर कसैलाई पनि भेटाउनुभएको छैन । फोन गर्दा एक वर्ष पुगेपछि फिर्ता गर्छौँ भन्ने जवाफ आउने गरेको उनी बताउँछन्। “अफिसमा गए कोही भेटिनुहुन्न”, उनले भने, “फोन गर्दा साउनमा दिन्छौँ, भन्नुहुन्छ ।”
तुलसीपुरका फेन्सी व्यवसायी अशोक भण्डारीले पनि रु छ हजार सो सहकारीमा बचत गरेका छन्। त्यही रकम लैजानका लागि धेरै पटक कार्यालयमा धाएको उनको भनाइ छ ।आर्थिक मन्दिका कारण बचतकर्ताको बचत फिर्ता गर्न नसकिएको जनाउँदै गएको माघ २७ गते उक्त सहकारीको तुलसीपुर शाखा केही समयका लागि बन्द गर्ने भनी सूचना प्रकाशित गरिएको थियो । अर्को सूचना प्रकाशनमा नआएसम्म बन्द रहने जानकारी गराइएको थियो । बन्द भएको एक महिनासम्म पनि सो सहकारीको सेवा पुनःसञ्चालन हुन सकेको छैन ।
प्रतिक्रिया