काठमाडौं | विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रिक गाडी निर्माता **बीवाइडी (BYD)**ले आफ्नो लोकप्रिय मोडेल डल्फिनको नयाँ २०२५ संस्करण नेपाली बजारमा ल्याएको छ। नेपालका लागि बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इन्कले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत उक्त मोडेल सार्वजनिक गरेको हो।
सन् २०२१ मा चीनमा सार्वजनिक भएको डल्फिन मोडेल युरोप र एसियामा अत्यन्त सफल सावित भएको थियो। नेपालमा समेत यो मोडेलले निकै लोकप्रियता हासिल गर्दै सन् २०२४ मा मात्र १३५५ युनिट बिक्री भएको थियो, जुन कम्प्याक्ट ईभी सेग्मेन्टको ३७ प्रतिशत हिस्सा हो।
परिष्कृत संस्करण, अझ आकर्षक डिजाइन र उच्च दक्षता
कम्पनीका अनुसार नयाँ संस्करण पुरानो मोडेलको सफलताका आधारमा परिष्कृत गरी ल्याइएको हो। डल्फिन २०२५ मा उच्च ऊर्जा दक्षता, सुरक्षित ‘ब्लेड ब्याट्री’, स्मार्ट फिचर्स र आधुनिक डिजाइनको संयोजन गरिएको छ।
यसले ३४० देखि ४२७ किलोमिटरको ड्राइभिङ रेन्ज प्रदान गर्नेछ। गाडीमा १५० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर, रोटेट हुने १२.८ इन्च टचस्क्रिन, एप्पल कारप्ले, एन्ड्रोइड अटो, एडाप्टिभ क्रुज कन्ट्रोल, ६ एयरब्याग, लेन असिस्ट, र ३६० डिग्री क्यामेरा जस्ता एआई-आधारित सुरक्षा प्रविधिहरू समावेश छन्।
मूल्य र रंग विकल्प
साइमेक्सले पुरानो भर्सनको मूल्य ४१ लाख १५ हजार रुपैयाँ तोकेको थियो भने नयाँ संस्करणको मूल्य ४५ लाखदेखि ५२ लाख रुपैयाँसम्म हुने अनुमान गरिएको छ।
यो मोडेल पाँच आकर्षक रङ— स्की ह्वाइट, पर्पल, कोरल पिंक, अर्बन ग्रे, र स्यान्ड ह्वाइटमा उपलब्ध हुनेछ।
घरेलु चार्जिङ प्रणालीसहितको सुविधा
बीवाइडी डल्फिन एसी तथा डिसी फास्ट चार्जिङ सपोर्ट गर्ने क्षमतासहित आएको छ। ६०–८० किलोवाटको फास्ट चार्जरमार्फत ३० मिनेटमै ८०% चार्ज गर्न सकिन्छ। साथै, घरमै चार्ज गर्ने वाल चार्जर सुविधा पनि साइमेक्समार्फत उपलब्ध गराइने छ।
नेपालका लागि उपयुक्त, स्मार्ट सहरका लागि बनाइएको
नेपालमा बढ्दो पेट्रोलियम मूल्य, कर छुट नीति, र सफा ऊर्जा प्रवर्द्धनका कारण ईभीप्रतिको आकर्षण तीव्र छ। बीवाइडी डल्फिन सहरी सवारीका लागि उपयुक्त साइज, सस्तो सञ्चालन खर्च, र इको–फ्रेन्डली सोच भएका उपभोक्ताहरूका लागि आदर्श विकल्प बन्न सक्ने अनुमान छ।
प्रतिक्रिया