काठमाडौँ। गुह्येश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सबाट राजेश श्रेष्ठ बाहिरिएपछि तोयाराज अधिकारी प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा नियुक्त भएका छन् । सोमबार नियुक्त भएका अधिकारीले सोही दिनबाटै पदभार ग्रहण गरेका हुन।
चार वर्षका लागि नियुक्त भएका श्रेष्ठले एक वर्ष कार्यकाल बाँकी हुँदै पदबाट राजिनामा दिएका थिए । एसियन लाइफ इन्स्योरेन्सका संस्थापकहरुले खोलेको यस फाइनान्समा श्रेष्ठ यसअघि एसियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रहेका थिए । स्रोतका अनुसार श्रेष्ठ र व्यवस्थापनबीच मनमुटाव भएपछि उनले पद छाडेका हुन् । केही महिनायता श्रेष्ठ र सञ्चालक समितिका केही पदाधिकारीबीच वार्ता समेत बन्द भएको फाइनान्सका एक कर्मचारीले बताए ।
तर अधिकारीले भने आफू आउने भएपछि समझदारीमै पूर्व सीईओ श्रेष्ठले राजिनामा दिएको बताएका छन् । उनले भने, ‘हामीले आपसमा सौहार्दपूर्ण ढंगले छलफल गरेका थियौं । एक वर्ष पछि गर्ने की अहिले नै गर्ने भन्नेमा समझदारीमै यस्तो निर्णय भएको हो ।’
नवनियुक्त सीईओ अधिकारीसँग दुई दशकको बैंकिङ अनुभव छ । विसं. २०५८ मा पोखराको माछापुच्छ्रे बैंकबाट उनले बैंकिङ करियर सुरु गरेका थिए । त्यतिबेला ‘सुपरभाइजर’ ओहोदाबाट काम थालेको उनले बताए । लामो समय माछापुच्छ्रेमा बिताएपछि उनी तत्कालिन कास्की फाइनान्सको सीईओ बने ।
करीब ७ वर्ष कास्की फाइनान्मा नेतृत्व गरेर उनले कामना विकास बैंकसँग मर्जर गराए । त्यसपछि कामना विकास बैंक भएपछि पनि उनले अर्को डेढ वर्ष सीईओकै रुपमा काम गरे । त्यसपछि कामना विकास बैंक र सेवा विकास बैंक मर्जर भयो । त्यसरी बनेको कामना सेवा विकास बैंकमा भने उनको भूमिका डेपुटी सीईओमा खुम्चियो ।
साढे ८ वर्ष व्यवस्थापकीय नेतृत्वमा बसिसकेका व्यक्तिलाई मर्जरको ‘मिलेमतो’मा डेपुटी सीईओ बनाइए पछि उनले ४ महिनामै जागिर छाडे । त्यसपछि बेस्ट फाइनान्सको सीईओ बने । त्यहाँ साढे २ वर्ष काम गरेपछि उनी पछिल्लो २ वर्ष बैंकिङ क्षेत्रको नेतृत्व बाहिर थिए । यसरी ११ वर्षको सीईओ करियर पुरा गरेका उनी अब गुह्येश्वरीको व्यवस्थापकीय नेतृत्व गर्न आइपुगेका छन् ।
प्रतिक्रिया