काठमाडौँ । कर्णाली डेभलपमेन्ट बैंकले निक्षेप भुक्तानी सुरु गर्ने जानकारी दिएको छ। नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहको नेतृत्वमा सञ्चालन भइरहेको कर्णाली डेभलपमेन्ट बैंकले पुष १७ गतेदेखि प्राथमिक चरणमा निक्षेप भुक्तानी प्रक्रिया सुरु गरेको हो । बैंकले बिरामी, वृद्ध, र बालबालिकाको औषधी उपचार प्रयोजनका लागि अधिकतम २५ हजार रुपैयाँसम्म भुक्तानी दिन सुरु गरेको छ । भुक्तानीका लागि ग्राहकहरूले आवश्यक कागजात पेस गर्नुपर्नेछ।
प्रारम्भिक चरणमा बैंकले आफ्नो १६ वटा शाखाबाट निक्षेप भुक्तानीको व्यवस्था गरेको छ। भुक्तानी शाखाहरूमा नेपालगंजस्थित केन्द्रीय कार्यालय, तुल्सीपुर, लमही, गुलरिया, बाँसगढी, भुरीगाउँ, घोराही, कोहलपुर, खजुरा, सानोश्री, भालुवाङ, गढवा, राजापुर, ठाकुरद्वारा, नारायणपुर, र सिसहनिया शाखा रहेका छन्।
बैंकले भुक्तानी प्रक्रिया बिहान ११ बजेदेखि सुरु हुने बताउँदै तरलता व्यवस्थापनमा सुधारसँगै निक्षेप भुक्तानीको दायरा क्रमशः विस्तार गरिने जानकारी गराएको छ। ग्राहकहरूमा पर्न गएको असुविधाप्रति बैंकले क्षमा याचना गरेको छ।
प्रतिक्रिया