काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले वातावरण संरक्षण तथा सांस्कृतिक सम्पदाको जगेर्नालाई प्रवर्द्धन गर्ने उद्देश्यले बुढानिलकण्ठ क्षेत्रमा विशेष वाकाथन सम्पन्न गरेको छ। बैंकको वार्षिक कार्यक्रम अन्तर्गत फागुन १५–१६ गते आयोजित दुई दिने कार्यशालासँगै दिगो बैंकिङको महत्वलाई प्राथमिकता दिँदै बैंकका उच्च अधिकारी, कर्मचारी तथा सरोकारवालाहरूको सहभागितामा वाकाथन आयोजना गरिएको हो।
‘हरित बैंकिङ र दिगो वित्तीय प्रणाली’को अवधारणालाई सुदृढ बनाउँदै बैंकले वित्तीय क्षेत्रको सामाजिक उत्तरदायित्वलाई समेत थप प्रभावकारी बनाउन वातावरणीय तथा सांस्कृतिक संरक्षणमा सक्रिय भूमिका खेल्नुपर्ने सन्देश दिएको छ।
वाकाथनको क्रममा सहभागीहरू ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले महत्त्वपूर्ण स्थानहरू हुँदै अघि बढेका थिए। बैंकिङ प्रणालीलाई दिगो बनाउने उद्देश्य अनुरूप हरित वित्तीय अभ्यासहरूलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता वाकाथनमार्फत उठाइएको थियो।
१०३ शाखामार्फत ८ लाख ग्राहकलाई सेवा दिइरहेको महालक्ष्मी विकास बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न दिगो वित्तीय अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
लेखकको बारेमा

प्रतिक्रिया