काठमाडौं । साधना लघुवित्त र सबैको लघुवित्त मर्ज हुने भएको छ । यही भदौ १५ गते शुक्रबार दुई संस्थाबीच गाभ्ने गाभिने सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौंतामा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट अध्यक्ष कृष्ण बहादुर थापा र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट अध्यक्ष नारायण प्रसाद जोशीले हस्ताक्षर गरेका हुन् ।
साधना लघुवित्त र सबैको लघुवित्त दुबै लघुवित्तको क्षेत्रमा सबल एवम् सक्षम संस्थाको रुपमा सुपरिचित रहेका छन् । लघुवित्तहरु एकआपसमा गाभिए पछि लघुवित्त क्षेत्रमा थप उर्जा प्रदान गरी साथै यसले नियामक निकायको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य लघुवित्तहरुलाई समेत मर्जरको लागि प्रेरित गर्ने देखिन्छ ।
मर्जरपछि बन्ने लघुवित्त वित्तीय संस्थाको नाम सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड रहने सहमति भएको छ । त्यसैगरी मर्जर पछि बन्ने लघुवित्तको नयाँ सञ्चालक समितिमा दुबै लघुवित्तको सञ्चालकहरुको प्रतिनिधित्व रहनेछ ।
सञ्चालक समिति अध्यक्षमा हालको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष कृष्ण बहादुर थापा र प्रमुख कार्यकारी अधिकृतमा सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका केशब कुमार पौडेल रहने सहमति भएको छ ।
साधना लघुवित्तको केन्द्रीय कार्यालय गोरखामा रहेको छ भने सबैको लघुवित्तको केन्द्रीय कार्यालय तनहुँमा रहेको छ । साधनाको प्रमुख संस्थापकमा कुमारी बैंक, शांग्रिला डेभलपमेन्ट बैंक, एक नारायण चापागाई लगायत रहेका छन् ।
सबैको लघुवित्तको प्रमुख संस्थापाकमा शशिकान्त अग्रवाल, पृथ्वी, चन्द्र ढकाल, हेमराज ढकाल, रेखा घिमिरे लगायत रहेका छन् ।
सबैको लघुवित्तको चुक्ता पूँजी ३१ करोड ८६ लाख रुपैयाँ रहेकोछ । त्यस्तै साधना लघुवित्तको चुक्ता पूँजी ३८ करोड २२ लाख ५८ हजार ३ सय ४५ रुपैयाँ रहेकोछ ।
प्रतिक्रिया