काठमाडौँ। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडबाट राजीनामा दिने कर्मचारीहरुको संख्या बढ्दै गएको छ। राष्ट्र उत्थानलाई प्राप्ती गरेपछि कर्मचारी व्यवस्थापन गर्न नसक्दा आशा लघुवित्तका कर्मचारीले आन्दोलनको तयारी सहित संयुक्त राजीनामा दिएका हुन।
शुक्रबार हेटौडामा २ सय कर्मचारी उपस्थित भई संयुक्त राजीनामा दिएका थिए। यो सँगै आशा लघुवित्तको व्यवस्थापन समूहप्रति रुष्ट अन्य कर्मचारीहरु पनि सोही समूहमा ऐक्यवद्धता जनाई राजीनामा दिने तयारीमा लागेको आशा लघुवित्तका कर्मचारी दिपेश बुढाथोकीले बताए।
आन्दोलनको तयारीमा कर्मचारीबीच सहजकर्ताको भुमिका निर्वाह गर्दै आएका बुढाथोकीले एक्लै बोल्न डराएका कर्मचारीहरु पछिल्लो समय देखिएको पिडित कर्मचारीको एकतामा विश्वास गर्दै खुल्न थालेको बताए। ‘राष्ट्र उत्थानका करिब ३ सय कर्मचारी आशा लघुवित्तमा समावेश भयौँ। यताका अधिकांश कर्मचारीमाथि तत्कालिन आशा लघुवित्तको व्यवस्थापन समूहले कुनै न कुनै किसिमले अनावश्यक तथा अत्याधिक प्रेसर दिँदै आएको थियो।’ बुढाथोकीले भने, ‘हामीहरु करिब २ सय जनाले संयुक्त राजीनामा सहित आन्दोलनको तयारी गरेसँगै अन्य पिल्सियर बसेका साथिहरु पनि खुलेर बोल्न थाल्नु भएको छ। यो पछिल्लो तीन दिनमा अतिरिक्त ७ जना साथिहरु सामूहिक राजीनामा दिई आन्दोलनको पक्षमा रहेको जानकारी गराउनु भएको हो।’
व्यवस्थापक समूहले कर्मचारीले खाइपाइ आएको तलबमा तलमाथि तथा विभेद गर्ने, विना आधार घटुवा बढुवा तथा सरुवा गर्ने, कार्यालय समय बाहिर र आधिकारीक माध्यम भन्दा बाहिरबाट समेत कामको प्रेसर दिने तथा गैर कानुनी काम समेत गर्न दबाब दिएको भन्दै कर्मचारीहरु आन्दोलनको मैदानमा आएका हुन।
कर्मचारीहरुले ११ बुँदे माग राखेर सयुक्त राजीनामा बुझाएका हुन्। व्यवस्थापनले छलफलमा बोलाई माग सम्बोधन गरेमा पुनः कार्यालयमा फर्कने समेत उनीहरुको भनाई छ। यद्यपी व्यवस्थान समूहले भने व्यक्ति व्यक्तिलाई फोन गरि उल्टै धम्काएको एक कर्मचारीले बताए।
प्रतिक्रिया