वि.सं. २०८२ असार ७, शनिबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लघुवित्तको एनपीएल र राष्ट्र बैंकको नीतिबीच रस्साकस्सी, ५ वर्षमा ३४० प्रतिशतले बढ्यो

रोजीना सापकोटा
२०८० फाल्गुन १४, सोमबार

काठमाडौँ। नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त वित्तीय संस्था अर्थात लघुवित्तको निष्कृय कर्जा–नन पर्फमिङ लोन(एनपीएल) को वृद्धिदर उच्च देखिएको छ। पछिल्लो पाँच वर्षमा लघुवित्तहरुको एनपीएल ३४० प्रतिशतले बढेको हो।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म आईपुग्दा सञ्चालनमा रहेका ५४ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्तहरुको औषत एनपीएल ७.४९ प्रतिशत पुगेको छ। यो पछिल्लो पाँच वर्ष अवधिको तुलनामा ३४०.८० प्रतिशतले बढी हो। पाँच वर्ष पहिला अर्थात २०७६ पुस महिनामा यस्तो एनपीएल मात्रै १.७० प्रतिशत थियो।

कोभिड, रुस र युक्रेनको युद्धले विश्वमा देखिएको आर्थिक मन्दीले नेपालको लघुवित्तमा एनपीएललाई बढवा दिएको देखिन्छ। कोभिड अगाडी २ प्रतिशत पनि नपुगेको लघुवित्तको एनपीएल कोभिडपछि चलायमान भएका गतिविधिसँग बढेको तथ्यांकले देखाउँछ।

आर्थिक वर्ष २०७५÷७६ मा सबैभन्दा बढी पुस महिनामा १.४६ प्रतिशत पुगेको थियो। सोही आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत महिनामा यस्तो एनपीएल मात्रै १.४४ प्रतिशत रहेको थियो। ०७६ को असार, असोज र पुसमा क्रमशः १.१८, १.४४ र १.७० पुगेको थियो।

यो नेपालमा कोभिड भित्रनु अगाडीको अवस्था हो । सोही वर्ष माघ १० गते पहिलो पटक कोरोना देखियो। त्यसपछिको चैत महिनामा एनपीएल २.२३ प्रतिशत माथि उक्लियो। तबबाट नेपालको बैंक तथा वित्तीय क्षेत्रमा कोभिडको प्रारम्भिक धक्का सुरु भयो ।

लघुवित्तको कर्जा घरघरमा पुगेर उठाउनुपर्ने हुँदा माहामारिमा किस्ता उठाउन घर-घरमा जाने अवस्था रहेन। छिमेकी मुलुक भारत लगायतका देशमा रोजगारीका लागि गएका घरपरिवारले किस्ता तिर्न सक्ने अवस्था रहेन । लघुवित्तबाट लिएको ऋणको ब्याज सम्म तिर्न नसक्ने अवस्था आयो ।

फल स्वरूप ०७७ असारमा एनपीएल सामान्य बढेर २.३४ मा पुग्यो। असोज र पुसमा क्रमशः ३.७९ र ४.८० मा उक्लियो ।

यतिबेलासम्म नेपालको अर्थतन्त्रमा पनि कोभिडले प्रभाव जमाइसकेको थियो। फलस्वरुप आर्थिक वर्ष २०७७÷७८ का लागि कोभिडको प्रभावलाई मध्यनजर गर्दै सरकारले बजेटमार्फत र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत आर्थिक क्रियाकलाप बढाउने नीति अबलम्बन गरेको थियो।

कोभिड प्रभावितका लागि सहुलियत दरको कर्जा, पुर्नसंरचना, पुर्नतालिकिकरण आदिको व्यवस्था ल्याईयो। बजारमा पैसा गयो, ऋणीले सहज रुपमा पाउने अवस्था पनि आयो। जसले गर्दा लघुवित्तका ऋणीले अन्यन्त्रबाट ऋण लिएरै पनि किस्ता तिरे। अर्काेतर्फ राष्ट्र बैंकले आर्थिक वर्षको मध्यतर्फबाट पुर्नतालिकिकरणको सुविद्या पनि दियो। जसले गर्दा पुसमा देखिएको ४.२० प्रतिशतको एनपीएल ३ महिना पछि अर्थात चैतमा आउँदा २.८० मा झर्यो ।

यो सँगै आर्थिक गतिविधि विस्तारै चलयामान हुन थाले। राष्ट्र बैंकले मौद्रिक नीति र विभिन्न सकुर्लर जारी गरेर वित्तीय क्षेत्रमा स्थायित्व प्रदान गर्न खोजिरहेको थियो। फलस्वरुप ०७८ को असार, असोज, पुसस, चैतमा लघुवित्तको एनपीएल क्रमशः २.९७, ३.१९, २.९४ र २.८१ प्रतिशतमा रह्यो। गत आर्थिक वर्ष अर्थात ०७९ को असारसम्म पनि लघुवित्तको एनपीएल २.५६ मै रह्यो करिब एक वर्ष ३ प्रतिशत भन्दा माथि उक्लिएको थिएन।

विश्व अर्थतन्त्रपनि कोभिडको महामारिबाट बाहिर निस्कदै थियो। तर, ०७८ को फागुन १२ गतेदेखि रुस र युक्रेनको युद्ध सुरु भयो। विश्व बजार सोही युद्धको कारण महँगीदै गयो।

यता नेपालमा पनि ०७८ माघ १ गतेदेखि लघुवित्त वित्तीय संस्थाविरुद्धको अभियान सुरु भयो। लामो समय राजनीतिमा लागेर ‘हात लाग्यो शून्य’ अवस्थामा रहेका गूल्मीका मनिराम ज्ञवाली लघुवित्तका सदस्यलाई आफु अनुकुल बनाएर आसन्न निर्वाचन आफ्नो पक्षमा पार्ने षड्यन्त्रमा लागे।

चुनाव गयो तर लघुवित्त विरुद्धको आन्दोलन ज्ञवालीलाई अहिले पनि गलाको पासो बनेको छ। फलस्वरुप आजका दिनसम्म पनि आन्दोलन गर्दै हिडेका छन।

कोभिड, युद्धले थलिएको विश्व अर्थतन्त्रको प्रभाव नेपालको अर्थतन्त्रमा पर्याे। आर्थिक गतिविधि ठप्प छन। कहिले तरलता अभाव त कहिले बढी। अर्काेतर्फ लघुवित्तको ऋण तिर्नु पर्दैन भनेर भिड लिएर हिडेका ज्ञवाली। जसले गर्दा लघुवित्तको कर्जा उठ्न सकेन।

फलस्वरुप ०७९ को असोजमा ३.७१ प्रतिशत एनपीएल पुग्यो। जुन, पछिल्लो तीन वर्ष यताकै उच्च थियो। यो सँगै लघुवित्तको एनपीएल उच्च दरमा बढ्न थाल्यो। पुसमा ४.६७ प्रतिशत पुग्यो । चैतमा ७.४३ प्रतिशत पुग्यो।

चैतको अन्तिममा लघुवित्तको एनपीएल उच्च देखिएपछि राष्ट्र बैंकले सोही अवधिसम्मको अर्थात आर्थिक वर्ष २०७९–८०को तेस्रो त्रैमासिक समिक्षा मार्फत ०८० असार मसान्तसम्म पुनरसंरचना तथा पुनरतालिकीकरण गर्नुपर्ने व्यवस्था गर्याे।

०८० बैशाख २९ गते त्रैमासिक समिक्षामार्फत गरेको उक्त व्यवस्थालाई कार्यान्वयन गर्न जेठ १० गते सकुर्लर जारी गर्याे, जसमा पुनरतालिकीकरण तथा पुनरसंरचना गरिएका कर्जा पनि ५ प्रतिशत प्रोभिजन गरि सक्रिय कर्जाको वर्गमा राख्ने व्यवस्था छ।

सोही व्यवस्थाको कारण ०८० असार मसान्तसम्म आउँदा लघुवित्तको एनपीएल ५.५२ प्रतिशतमा झर्याे। तर, राष्ट्र बैंकको यो एकपटकको अस्त्रले लघुवित्तको एनपीएललाई  लामो समय टिक्न सकेन। असोजमा आईपुग्दा पुनः ७.०८ मा आईपुग्यो। राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत पुसमा यस्तो एनपीएल ७.४९ प्रतिशत पुगेको छ।

लघुवित्तमा एनपीएलको वृद्धि नरोकिएपछि राष्ट्र बैंकले पुनः गत पुसमा पुनरतालिकीकरण वा पुनरसंरचनाको सुविद्या ल्याएको छ। यहि चैत मसान्तसम्म आवेदन दिई ०८१ भित्र पुनरसंरचना गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। यसमा पनि लघुवित्तहरुले मात्रै ५ प्रतिशत प्रोभिजन गर्नुपर्ने छ।

मुलुकमा देखिएको आर्थिक मन्दी र कर्जा तिर्नु पर्दैन भनेर केही संगठित संस्थाले भ्रम विस्तार गरिरहेको कारण कर्जा रिकभरि हुन सकिरहेको छैन। यसरी राष्ट्र बैंक र लघुवित्तको कर्जा रिकभरिमा रस्साकसि भएको देखिन्छ।

प्रतिक्रिया