काठमाडौं। पोखरा फाइनान्सको वित्तीय अवस्था खराब भएको निष्कर्षसहित नेपाल राष्ट्र बैंकले सुधारात्मक कारवाही प्रक्रिया अघि बढाएको छ। राष्ट्र बैंक सञ्चालक समितिले पोखरा फाइनान्ससँग स्पष्टिकरण माग्ने निर्णय गरेको छ।
फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रविचन्द्र गुरुङले राष्ट्र बैंकले पठाएको स्पष्टिकरण पत्र आफूले प्राप्त नगरेको बताए। उनले २०८० पुसमा राष्ट्र बैंकले फाइनान्समा स्थलगत निरीक्षण गरी सुधारका लागि निर्देशन दिएको र ती निर्देशनहरू पालनामा फाइनान्स लागिरहेको दावी गरे।
खराब कर्जामा २०३% वृद्धि
राष्ट्र बैंकले फाइनान्सलाई खराब कर्जामा ध्यान दिन निर्देशन दिएको भए पनि तथ्याङ्कले फाइनान्सको वित्तीय अवस्था झन् बिग्रिएको देखाएको छ। फाइनान्सको वित्तीय विवरण अनुसार २०८० पुस मसान्तमा कुल कर्जाको ४.७६ प्रतिशत खराब कर्जा थियो, जुन २०८१ असोज मसान्तमा १४.४४ प्रतिशत पुगेको छ। नौ महिनामा खराब कर्जामा २०३ प्रतिशत वृद्धि भएको छ।
फाइनान्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४ करोड ९० लाख रुपैयाँ घाटा बेहोरेको छ। गत आर्थिक वर्षमा पनि नोक्सानमा रहेको फाइनान्सको सञ्चित नोक्सानी ६८ करोड रुपैयाँ नाघेको छ।
फाइनान्सको पुँजी १ अर्ब ८ करोड रुपैयाँ भए पनि निक्षेप, कर्जा लगानी लगायतका व्यवसायिक गतिविधिहरू घट्दै गएका छन्। सुशासनसम्बन्धी कमजोरी र वित्तीय अवस्थामा गिरावटका कारण फाइनान्सको अवस्था जटिल बनेको राष्ट्र बैंकका उच्च अधिकारीले जनाएका छन्।
कोरोना महामारीपछिको पर्यटन क्षेत्रको सुस्तीले पनि फाइनान्समा समस्या थपिएको सीईओ गुरुङको भनाइ छ। “पर्यटन व्यवसायीहरूले कर्जा तिर्न नसक्दा हाम्रो अवस्था दवावमा परेको छ। हामी नयाँ व्यवसाय विस्तारभन्दा कर्जा असुलीमा केन्द्रित भएका छौं,” उनले भने।
यसैबीच, नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्दै व्यवस्थापन नियन्त्रणमा लिएको छ। राष्ट्र बैंक सञ्चालक समितिको बुधबारको बैठकले राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो।
राष्ट्र बैंकले पोखरा फाइनान्सको सुधार प्रक्रियामा थप कदम चाल्ने संकेत गरेको छ। फाइनान्सको वित्तीय अवस्था सुधारका लागि आवश्यक कदमहरू चाँडो लागू गर्नुपर्ने देखिएको छ।
लेखकको बारेमा

प्रतिक्रिया