काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार ‘बिजनेस इन्टेलिजेन्स सिस्टम’ (BIS) को औपचारिक सुरुवात गर्दै आफ्नो सदस्य डाटाबेस, अध्ययन अनुसन्धान, र कार्यालय व्यवस्थापनमा डिजिटल प्रविधिको उपयोग गर्ने घोषणा गरेको छ।
महासंघका ६ लाखभन्दा बढी प्रत्यक्ष र अप्रत्यक्ष सदस्यहरूको सम्पूर्ण विवरण यस प्रणालीमा संग्रहित हुनेछ। जसले महासंघलाई नीतिगत सुझाव तयार पार्न र आवश्यक अध्ययन गर्न थप सहजता प्रदान गर्नेछ।
महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले BIS प्रणालीको उद्घाटन गर्दै यसले महासंघको अध्ययन, अनुसन्धान, र नीतिगत पैरवीलाई अझ सशक्त बनाउनेमा विश्वास व्यक्त गरे। उनले प्रणालीलाई नीतिगत निर्णयहरूको लागि प्रभावकारी साधनका रूपमा चित्रित गर्दै महासंघको सदस्य सेवामा महत्वपूर्ण सुधार ल्याउने बताए।
BIS पोर्टल एसिया फाउन्डेसन नेपालको प्राविधिक सहयोग र स्मार्ट सोलुसन्स टेक्नोलोजी प्रालिको सहयोगमा तयार पारिएको हो। यो प्रणाली नलेज प्लेटफर्मको रूपमा पनि काम गर्नेछ, जहाँ महासंघका विभिन्न अध्ययन, तथ्यांक, र प्रकाशन सर्वसाधारणको पहुँचमा उपलब्ध हुनेछ।
यस प्रणालीमार्फत महासंघका सदस्यहरू अध्ययन र अनुसन्धानका लागि आवश्यक सर्वेक्षण गर्न सक्षम हुनेछन्, जसले उद्योगको समग्र प्रगति र नीतिगत परामर्शमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया