सुर्खेत, २७ माघ। सल्यानको श्रीनगरस्थित टाउन प्लानिङमा जारी दोस्रो बृहत् सल्यान महोत्सवमा भीषण आगलागी हुँदा करोडौंको क्षति भएको छ। शनिबार राति करिब ११ बजे लागेको आगोले महोत्सवका ८० वटा स्टल जलेर नष्ट भएका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शिव कुमार श्रेष्ठका अनुसार आगलागीबाट स्टलभित्र राखिएका सामान पूर्ण रूपमा जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमानअनुसार आगलागीका कारण करिब ३ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको छ।
राति अचानक लागेको आगो स्थानीयबासी, व्यवसायी, महोत्सव आयोजक समिति र सुरक्षाकर्मीको टोलीले तीन घण्टाको प्रयासपछि नियन्त्रणमा लिएको थियो। आगलागीको कारण भने अझै खुलेको छैन, र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आगोका कारण महोत्सव पूर्ण रूपमा प्रभावित भएको छ भने आयोजक पक्षले क्षतिको विवरण संकलन गर्दै आवश्यक कदम चाल्ने बताएको छ।
लेखकको बारेमा

प्रतिक्रिया