काठमाडौँ। बैंक भनेको वित्तीय कारोवार गर्ने इजाजतपत्रप्राप्त संस्था हो । बैंकले रकमको बचत, बचतको भुक्तानी, ऋण प्रवाह र अन्य सेवाहरू प्रदान गर्छ ।
बैंकले बचत गर्न चाहने बचतकर्ताबाट रकम लिएर ऋण लिन चाहने व्यक्तिहरू तथा संस्थाहरूलाई ऋण प्रवाह गर्ने काम गर्दछ । बैंकलाई वित्तीय मध्यस्थकर्ता पनि भनिन्छ । बैंकमा पैसा राख्नु भनेको आफ्नो कमाइलाई पारदर्शी र सुरक्षित बनाउनु हो ।
व्यक्ति वा संस्थाले बैंकबाट कारोबार गर्नका लागि दर्ता गरिने विवरण नै बैंक खाता हो । व्यक्ति वा संस्थाको रकम जम्मा गर्न बैंकहरुमा बचत खाता खोल्न सकिन्छ । यसरी खोलिएका खातबाट आफ्नो अनुकुलमा रकम राख्न वा झिक्न सकिन्छ ।
आफ्नो नजिकै रहेको बैंकको शाखा कार्यालयमा पुगेर वा घरमै बसेर अनलाइनबाट समेत बैंकको खाता खोल्न सकिन्छ । अहिले बैंकहरुले घरबाटै खाता खोल्न मिल्ने गरी अनलाइन सुविधाहरु ल्याएका छन् । सम्बन्धीत बैंकको वेबसाइटमा गएर अनलाइनबाटै खाता खोल्न सकिन्छ ।
बैंक खातामा रकम राख्नु पर्दा बैंकमा गएर भौचर भरेर वा डिजिटल माध्यमबाट घरमै बसेर पनि रकम जम्मा गर्न सकिन्छ । यसरी जम्मा गरिएको रकम कसैलाई भुक्तानी दिनु परे चेक मार्फत वा डिजिटल माध्यमबाट दिन सकिन्छ भने आफैले निकाल्नु पर्दा बैंकमा गएर वा एटिएमबाट निकाल्न सकिन्छ । चेक बुकबाट चेक खिचेर ग्राहकले आफ्नो खातामा जम्मा भएको मध्येबाट आफूलाई आवश्यक परे जति रकम नगदै झिक्न सकिन्छ ।
आफ्नो खातामा भएको विवरणहरु समय–समयमा लिन सकिन्छ । बैंक खातामा भएको विवरणबाट आफ्नो कारोवार, खातामा रहेको पैसा, सो वापत आर्जित ब्याज र ब्याज आर्जन वापत तिरेको कर रकमका बारेमा जानकारी मिल्दछ ।
बैंक खाताहरुका पनि प्रकार हुन्छन् । यीमध्ये चलनचल्तीमा रहेका खाताहरूमा चल्ती खाता, बचत खाता र मुद्दती खाता प्रमुख हुन् । राष्ट्र बैंकका अनुसार आपूmले चाहेको समयमा चाहेको जति रकम एकै दिनमा जतिसुकै पटक पनि राख्न तथा झिक्न सकिने खातालाई चल्ती खाता भनिन्छ ।
चल्ती खातामा बचत गरेको रकममा ब्याज पाइँदैन । कार्यालयहरूका लागि यो खाता बढी उपयोगी हुन्छ । बचत खातामा रकम जति पटक पनि जम्मा गर्न सकिन्छ तर एउटा निश्चित सीमाभित्र रहेर मात्र रकम झिक्न सकिन्छ । मुद्दती खातामा ६ महिना, १ वर्ष, २ वर्ष, ५ वर्ष वा सोभन्दा धेरै अवधिसम्मको एउटा निश्चित समयअवधि तोकेर रकम जम्मा गरिन्छ ।
बैंक खाताका प्रकार
खाता विभिन्न प्रकारका हुन्छन् । यी मध्ये चलनचल्तीमा रहेका खाताहरू चल्ती खाता, वचत खाता र मुद्दती खाता प्रमुख हुन् । बैंक तथा वित्तीय संस्थामा मूलतः देहाय बमोजिमका खाताहरू सञ्चालन गरिएका हुन्छन् :
चल्ती खाता
आफूले चाहेको समयमा चाहेको जति रकम एकै दिनमा जतिसुकै पटक पनि राख्न तथा झिक्न सकिने खातालाई चल्ती खाता भनिन्छ । यस खातामा राखेको पैसामा सामान्यतः ब्याज प्राप्त हुँदैन । उद्योगी, व्यापारी र कार्यालयहरूका लागि यो खाता बढी उपयोगी हुन्छ ।
वचत खाता
वचत खातामा रकम जति पटक पनि जम्मा गर्न सकिन्छ तर एउटा निश्चित सीमाभित्र रहेर मात्र रकम झिक्न सकिन्छ । यसका लागि बैंकले सीमा तोकेको हुन सक्छ । यस खाताको रकममा बैंकले निश्चित ब्याज प्रदान गर्दछ । सामान्यतया साना रकम जम्मा गर्दै जाने र आवश्यक परेको समयमा रकम निकालिरहनु पर्ने व्यक्तिका लागि यो खाता उपयोगी हुन्छ । सर्वसाधारण व्यक्तिहरूमाझ यस्तो खाता सर्वाधिक प्रचलनमा छ र लोकप्रिय समेत रहेको छ । पछिल्ला दिनहरूमा वचत खाताबाट झिक्न सकिने रकमको उच्चतम् सीमा पनि बैंकहरूले क्रमिक रूपमा बढाउँदै लगेको पाइन्छ । विद्यार्थी, युवा, गृहणी, गृहस्थी, बुढाबुढीहरू सबैका लागि यो खाता उपयोगी हुन्छ ।
मुद्दती खाता
मुद्दती खातामा ३ महिना, ६ महिना, १ वर्ष, २ वर्ष र ५ वर्षसम्मको एउटा निश्चित समय अवधि तोकेर रकम जम्मा गरिन्छ । तर, सामान्यतया तोकेको समयभन्दा पहिले नै रकम निकाल्न नमिल्ने हुँदा बीचमा रकम आवश्यक पर्ने सम्भावना नभएको अवस्थामा मात्र यस्तो खातामा रकम जम्मा गर्नु उपयुक्त हुन्छ । यस खातामा राखेको पैसाको व्याजदर पनि वचत खाताको भन्दा केही बढी नै हुन्छ । बीचमा रकम आवश्यक परेमा यस्तो खातामा जम्मा गरेको रकमको प्रमाणपत्र धितोराखी बैंकहरूबाट कर्जा निकाल्न त मिल्छ तर अन्य खातामा जस्तो तुरुन्तै रकम झिक्न नमिल्ने हुँदा रकम झिक्न केही समय लाग्ने हुन्छ । यसप्रकार ऋण लिँदा आपूmले मुद्दती निक्षेपमा पाउने ब्याज दरभन्दा केही प्रतिशत बढी ब्याज बैंकलाई तिर्नु पर्ने हुन्छ ।
प्रतिक्रिया