काठमाडौं । काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण कार्यलाई प्रभावित हुन नदिन नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत विद्युत आपूर्ति दिने भएको छ । ।
विद्युत् अभावमा फास्ट ट्रयाकको निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी जतिसक्दो छिटो विद्युत् आपूर्तिका लागि काम अगाडि बढाइसकेको छ । उक्त क्षेत्रका बासिन्दाको विद्युत् आपूर्तिमा भने कुनै समस्या छैन ।
गत असोजमा आएको बाढीले माण्डु हाइड्रोपावर र खानीखोलाका विद्युत्गृहमा क्षति पुर्याएपछि फास्ट ट्रयाक क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो। यसले निर्माण कार्यमा बाधा पुगेको भन्दै नेपाली सेनाले प्राधिकरणलाई जानकारी गराएको थियो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा टोलीले स्थलगत निरीक्षण गरी वैकल्पिक आपूर्तिका लागि तत्काल कदम चाल्ने निर्णय गरेको हो ।
बाढीले क्षति पुगेका जलविद्युत् आयोजनाहरूको पुनर्निर्माण चैत्रभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ। तर, त्यो अवधिसम्म वैकल्पिक व्यवस्थामार्फत आपूर्ति निरन्तरता दिन प्राधिकरणले तत्परता देखाएको छ। घिसिङले राष्ट्रिय गौरवको आयोजना प्रभावित नहुने सुनिश्चितता गर्दै तत्काल काम अघि बढाउन निर्देशन दिएका छन्।
प्रतिक्रिया