काठमाडौँ । सामाजिक संजाल फेसबुक, इन्स्टाग्राम र गुगल लगायतका सामाजिक सञ्जाल तीन महिनाभित्र दर्ता नभए बन्द हुने भएका छन। नेपाल सरकारले हिजो जारी गरेको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका–२०८० ले तीन महिनामा दर्ता नभए बन्द गर्न सकिने व्यवस्था गरेको हो ।
मन्त्रिपरिषदद्धारा स्वीकृत उक्त निर्देशिकाको सामाजिक सञ्जाल प्लेटफर्म सूचीकरणको उपदफा ७ मा सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने व्यवस्था गरेको छ। जसअनुसार अबको तीन महिनाभित्र नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जालहरु बन्द गरिने भएको हो। यसो त समिक्षा अवधिमा यस्ता समाजिक सञ्जाल सञ्चालक कम्पनीले दर्ता गरेर नेपालमा आफ्नो उपस्थितिलाई निरन्तरता दिन सक्छ।
तर, नागरिक शिक्षा तथा सामाजिक सशक्तीकरणमा मात्र केन्द्रित भई सञ्चालनमा रहेका समाजिक सञ्जाल प्लेटफर्मलाई भने उक्त प्रावधान लागू नहुने निर्देशिकामा उल्लेख गरिएको छ । त्यस्तै, एक लाख भन्दा बढी प्रयोगकर्ता भएका सामाजिक सञ्जालहरुले अनिवार्य रुपमा नेपालमा सम्पर्क बिन्दु राख्नुपर्नेछ । साथै, तीन महिनाभित्रमा अनिवार्य रुपले आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ ।
सामाजिक सञ्जालमा गर्न नहुने कार्य
निर्देशिकाले सामाजिक सञ्जालमा बेनामी वा छद्ममभेषी पहिचान ९फेक आईडी, पेज, ग्रुप० सिर्जना गर्न र त्यसमार्फत कन्टेन्ट उत्पादन गरी शेयर गर्ने वा अरुको कन्टेन्ट शेयर गर्न वा कमेन्ट गर्न वा कल गर्न रोक लगाएको छ । त्यस्तै कुनै व्यक्ति, समुदाय, जातजाति, लिङ्ग, धर्म, उमेर, वर्ण, वर्ग, पेशा, सम्प्रदाय, वैवाहिक अवस्था, पारिवारिक अवस्था, शारीरिक तथा मानसिक अवस्था, उत्पत्ति, यौनिक अल्पसङ्ख्यक, भाषाभाषी तथा कानूनले संरक्षण गरेका अन्य समूह वा वर्गलाई लक्षित गरी घृणा फैलाउने, सामाजिक सद्भाव र सहिष्णुतामा आँच आउने प्रकृतिका अभिव्यक्ति दर्शाउने शब्द, श्रव्य, दृश्य, तस्विर शेयर गर्न तथा ट्रोल बनाई प्रकाशन तथा प्रसारण गर्ने कार्य समेत गर्न नहुने उल्लेख छ ।
त्यस्तै निर्देशिका अनुसार बालश्रम, मानव बेचबिखन, बहुविवाह, बालविवाह, जातीय छुवाछुत लगायतका प्रचलित कानूनले वर्जित गरेको क्रियाकलाप गर्न प्रोत्साहित गर्न समेत पाइँदैन । अरूलाई होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्विर, ट्रोल बनाई घृणायुक्त अभिव्यक्ति, गाली बेइज्जती गर्ने वा हेट स्पिच मानिने कार्य गर्ने समेत गर्न गराउन पाइँदैन ।
अरूको पोस्ट शेयर वा कमेन्ट गरेको विषयले व्यक्ति, समूह वा समुदायमा हिंसा फैलने, सामाजिक सद्भाव बिग्रने लगायतका दुष्परिणाम निस्कन सक्ने खालका आवाज, शब्द, तस्विर, भिडिओलाई हेट स्पिच अन्तर्गत राखिएको छ । यसैगरी डिजिटल माध्यमको प्रयोगबाट एनिमेसन, मोन्टाज लगायतका प्रविधिको प्रयोग मार्फत कुनै व्यक्तिको तस्विर विकृत रूपले परिमार्जन गरी प्रकाशन वा प्रसारण गर्न समेत पाइने छैन । निर्देशिकाले रोक लगाएका अन्य कार्यहरू निम्न अनुसार छन् ;
सार्वजनिक प्रकृतिका बाहेक निजी मामिलाका फोटो तथा भिडिओ बिना अनुमतिबिना खिचेर सम्पादन, प्रकाशन र प्रसारण गर्ने ।
अश्लील शब्द, तस्विर, अडियो, भिडिओ एनिमेसन प्रकाशन प्रसारण वा सोको समर्थनमा कमेन्ट गर्ने ।
बालबालिकालाई हानी पुर्याउने सामग्री तथा बाल यौन शोषण, यौन दुर्व्यवहार, देह व्यापार लगायत निषेध गरिएका क्रियाकलापलाई प्रोत्साहन गर्ने ।
मित्थ्या सूचना, भ्रामक सूचना, दुष्प्रचार, सूचना तोडमोड गरी प्रकाशन वा प्रसारण गर्ने ।
साइबर बुलिङः प्रविधिको प्रयोग मार्फत अन्य व्यक्तिलाई प्रोत्साहित बनाउने, धम्क्याउने, हैरान पार्ने, गाली गलौच गर्ने, गलत सूचना सम्प्रेषण गर्ने लगायतका कार्य ।
लागू औषध सेवन तथा कारोकारलाई प्रोत्साहन गर्ने ।
जुवा खेलाउने वा जुवा खेल्न प्रोत्साहन गर्ने ।
आतङ्कवाद सम्बन्धी विषयवस्तुको प्रकाशन वा प्रसारण गर्ने ।
वैयक्तिक गोपनीयता भङ्ग गर्ने ।
सामाजिक सञ्जाल प्रयोग गरी कसैको आईडी वा सूचना ह्याक गर्ने ।
सामाजिक सञ्जाल प्रयोग गरी फिशिङ, इम्पोस्टर लगायतका कार्य गर्ने ।
बीभत्स तस्विर, भिडिओ पोस्ट वा शेयर गर्ने ।
कानूनले निषेध गरेका विषयवस्तुको विज्ञापन तथा कारोबार गर्ने ।
कानूनले निषेध गरेका क्रियाकलाप नक्कल गर्ने तथा शेयर गर्ने ।
सामाजिक सञ्जाल निर्देशिकाको पूर्ण पाठ
प्रतिक्रिया