काठमाडौँ। सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को क्यूआर कोड स्क्यान गर्न सक्षम स्मार्टफोन शुक्रबार ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा ट्राफिक प्रहरीले नागरिक एपमा रहेको भर्चुअल लाइसेन्स स्क्यान गर्न प्रयोग गर्ने १०४ वटा स्मार्टफोन प्राप्त गरेको हो।
यो व्यवस्था लागु भएसँगै सवारी चालकहरूले नागरिक एपमा रहेको भर्चुअल लाइसेन्स देखाएर यातायात नियमन गर्न सहज हुने भएको छ। सुरुको चरणमा १०४ डिभाइस उपलब्ध गराइएको भए पनि नेपाल प्रहरीका प्रमुख आईजीपी वसन्त कुँवरले देशभरका लागि करिब ३ हजार स्मार्टफोन आवश्यक पर्ने बताएका छन्।
“पूर्ण रूपमा भर्चुअल माध्यमबाट लाइसेन्सको नियमन गर्न ट्राफिक प्रहरीलाई तीन हजार डिभाइस आवश्यक छ भने तत्कालको लागि एक हजार फोन अनिवार्य छ,” कुँवरले भने।
क्यूआर कोड स्क्यान प्रक्रियाको विवरण
नयाँ डिभाइसहरूको प्रयोगले ट्राफिक प्रहरीहरूले नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्सको क्यूआर कोड स्क्यान गरी विवरण जाँच गर्न सक्नेछन्। जरिवाना गर्नुपर्ने अवस्थामा सोही डिभाइसबाट कारबाहीको अनुरोध गर्न सकिने र सूचना सिधै चालकको मोबाइलमा पुग्नेछ। यदि कुनै चालकले जरिवाना तिरेको छैन भने पुनः स्क्यान गर्दा एपमा क्यूआर कोड देखिने छैन, र लाइसेन्स कार्डको दृश्य उपलब्ध गराउन जरिवाना तिर्नुपर्ने हुन्छ।
यसरी स्क्यान गरिएका सबै लाइसेन्सको विवरण प्रहरीको ‘टीभीआरएस’ प्रणालीमा अद्यावधिक गरिने बताइएको छ।
यस नयाँ प्रणालीले डिजिटल सवारी चालक अनुमतिपत्रको व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। अब ट्राफिक प्रहरीले ओरियन्टेसन ट्रेनिङमार्फत डिभाइसको प्रयोगका लागि तालिम प्रदान गर्ने र सेवा छिट्टै सञ्चालनमा ल्याउने योजना बनाएको छ।
स्मार्टफोन हस्तान्तरण कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, नेपाल प्रहरीका एआईजीद्वय किरण बज्राचार्य र रामदत्त जोशी, डीआईजीद्वय दानबहादुर कार्की र भरतबहादुर बोहोरा, साथै प्रधानमन्त्रीका आईटी विज्ञ अस्गर अलीको उपस्थिति थियो।
हालसालै नागरिक एपमा सवारी चालक अनुमतिपत्रको क्यूआर कोड देखिने सुविधा सुरु गरिएको छ, जसले गर्दा अब कागजी लाइसेन्स बोक्नु नपर्ने भएको छ।
प्रतिक्रिया