वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आफैँले विकास गरेको एआईको आलोचना गर्ने वैज्ञानिकलाई नोबेल सम्मान, किन?

हिन्टनको चेतावनीलाई नजरअन्दाज गर्दै नोबेल सम्मान

अर्थलगानी
२०८१ आश्विन २३, बुधबार

जेनेभा- कृत्रिम बौद्धिकता (एआई) का दुई महान वैज्ञानिकहरू जेफ्री हिन्टन र अमेरिकी जोन होपफिल्ड (बेलायती-क्यानाडाली) २०२४ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित भएका छन्। दुई वैज्ञानिकहरूले कृत्रिम न्युरल नेटवर्कको विकासमा गरेको महत्वपूर्ण योगदानका लागि यो प्रतिष्ठित पुरस्कार प्राप्त गरेका हुन्।

नोबेल समितिले उनीहरूलाई “कृत्रिम न्युरल नेटवर्क प्रयोग गरेर मेसिन लर्निङलाई सक्षम बनाउनका लागि आधारभूत खोज र आविष्कार” गरेको भन्दै सम्मान गरेको हो। हिन्टन र होपफिल्डले गरेको कामले आजको शक्तिशाली एआई प्रविधिको जग बसाएको छ। होपफिल्डले १९८० को दशकमा न्युरल नेटवर्कमा आधारित एसोसिएटिभ मेमोरीको सिद्धान्त विकास गरेका थिए, जसले तस्बिर (फोटोहरु) र अन्य ढाँचाहरूलाई (डिजाइन) भण्डारण (सेभ ) र पुनःनिर्माण गर्न सक्षम बनायो। हिन्टनले यसलाई अगाडि बढाउँदै स्वायत्त रूपमा डेटा विश्लेषण गर्न सक्ने न्युरल नेटवर्कको विकास गरेका थिए । जसले तस्बिर चिन्ने लगायतका कार्यहरू गर्न सक्ने क्षमता विकास गर्‍यो।

यिनै हिन्टनले पछिल्ला केही वर्षमा एआईको जोखिमका बारेमा खुला रुपमा चेतावनी दिदै आएका  थिए। उनले सन् २०२३ मा गुगलबाट राजीनामा दिँदै एआईले ठूलो मात्रामा जागिर खतरामा पार्न सक्ने र गलत सूचना फैलाउने जोखिम रहेको बताएका थिए।

दुवै वैज्ञानिकले स्टकहोममा डिसेम्बर १० मा नोबेल पुरस्कार सहित सुनको पदक र १० लाख डलर प्राप्त गर्नेछन्। नोबेल पुरस्कारको कुल रकम ९ करोड रुपैयाँभन्दा बढी हुनेछ जुन दुवै वैज्ञानिकले बराबर बाँड्नेछन्।

एआई कै बिरोधि बैज्ञानिकलाई किन दिईयो नोबेल पुरस्कार ?

जेफ्री हिन्टनलाई २०२४ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइनु धेरैलाई आश्चर्य लाग्न सक्छ । किनकि उनले आफूले विकास गरेको कृत्रिम बौद्धिकता (एआई) को विरोध गर्दै आएका थिए। हिन्टनलाई यो पुरस्कार उनीद्वारा प्रवर्तित न्युरल नेटवर्क प्रणालीको विकासमा महत्त्वपूर्ण योगदानका लागि दिइएको हो । जसले आजको शक्तिशाली एआई प्रणालीको जग बसाएको छ। तर, हिन्टनले पछिल्लो समय एआईले मानवीय सभ्यता र समाजमा पार्न सक्ने खतराहरूको बारेमा गम्भीर चेतावनी दिएका छन्।

सन् २०२३ मा हिन्टनले गुगलबाट राजीनामा दिएर सार्वजनिक रूपमा एआईको खतरा र यसको अनियन्त्रित विकासले विश्वव्यापी अस्थिरता ल्याउन सक्ने भन्दै विरोध गरे। उनले विशेष रूपमा एआईले ठूलो मात्रामा रोजगारको क्षति गलत सूचना फैलिने जोखिम र अन्ततः मानवजातीको अस्तित्वलाई नै चुनौती दिन सक्ने डर व्यक्त गरे। यस्तो विरोध गरेका वैज्ञानिकलाई नै नोबेल पुरस्कार दिनु अनौठो देखिन सक्छ तर उनीद्वारा गरिएका आविष्कारले एआई प्रविधिको आधारभूत विकासमा महत्त्वपूर्ण भूमिका खेलेकोले उनलाई यो सम्मान दिइएको पाइएको छ ।

यो अवस्थाले विज्ञानको अनिश्चिततासँग जोडिएको एउटा महत्त्वपूर्ण पाठ पनि दिन्छ। प्रविधिको विकास गर्नेहरूले पनि यसका सम्भावित खतराहरू चिन्न सक्नुपर्छ जसमा हिन्टनले आफूले बिकास गरेको प्रविधिको दुरुपयोगबारे सचेत गराए। यो पुरस्कारको निर्णयले हिन्टनको वैज्ञानिक योगदानलाई सम्मानित गरेको भए पनि उनले उठाएका प्रश्नहरूलाई पनि संसारले गम्भीरतासाथ लिनुपर्ने देखिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी