काठमाडौं – विश्वभरका इलेक्ट्रिकल इन्जिनियरहरूलाई जोड्ने ऊर्जा प्रणाली प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सोमबारदेखि काठमाडौंमा सुरु भएको छ। आई-ट्रिपल ईको पावर एन्ड इनर्जी सोसाइटी (पीईएस) नेपाल च्याप्टरको सहआयोजनामा आयोजित तीनदिने यो सम्मेलनमा १५ देशका १०० प्रतिनिधि सहभागी छन्। सम्मेलनमा ऊर्जा प्रणालीसँग सम्बन्धित नवीनतम प्रविधि र भविष्यमुखी ऊर्जा चुनौतीहरूबारे गहिरो छलफल हुने आयोजकले बताएका छन्।
सम्मेलनमा आई-ट्रिपल ई पावर एन्ड इनर्जी सोसाइटीकी पूर्वअध्यक्ष जेसिका बियानले ऊर्जा क्षेत्रमा भइरहेको परिवर्तनले भविष्यलाई कसरी लाभान्वित गर्न सकिन्छ भन्ने कुरा महत्त्वपूर्ण रहेको बताइन्। उनले यसलाई विश्वभरका इलेक्ट्रिकल इन्जिनियरहरूको साझा मञ्चका रूपमा प्रस्तुत गरिन्। अष्ट्रेलियन इनर्जी मार्केट अपरेटरका रणनीतिक सल्लाहकार डिन सर्राफीले आधुनिक ऊर्जा प्रणालीमा नवीकरणीय ऊर्जा एकीकरणले चुनौती र अवसर दुवै सिर्जना गरेको बताए।
ऊर्जा क्षेत्रमा छात्रवृत्ति प्रदान गर्दै आइरहेको आई-ट्रिपल ई पावर एन्ड इनर्जी सोसाइटीले यस सम्मेलनलाई विशेष शिक्षण अवसरका रूपमा पनि हेरिरहेको छ। भाइस प्रेसिडेन्ट निर्मल नायरले विद्यार्थी र इन्जिनियरहरूलाई उर्जा क्षेत्रमा दक्ष बनाउन यो सम्मेलन महत्त्वपूर्ण हुने बताए। यसै क्रममा, पूर्वसचिव दिनेशकुमार घिमिरेले नेपालजस्ता विकासोन्मुख देशमा गुणस्तरीय र दिगो ऊर्जा प्रणालीको आवश्यकता रहेको उल्लेख गरे।
सम्मेलनको प्रमुख आयोजक प्रा. नवराज कार्कीले यो सम्मेलनको आयोजना काठमाडौंमा हुनुले नेपाललाई ऊर्जा प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान दिन महत्त्वपूर्ण योगदान पुग्ने बताए। चीनको इलेक्ट्रिकल इन्जिनियरिङ सोसाइटीसँगको सहकार्यमा सन् १९९८ देखि सुरु भएको यो सम्मेलन यसपटक १६औं संस्करणका रूपमा काठमाडौंमा सम्पन्न भइरहेको छ।
प्रतिक्रिया