काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सूचना प्रविधि (आईटी) उद्योगको विकास र विस्तारका लागि लगानीमा सहजीकरण गर्ने भएको छ। सरकारले अध्यादेशमार्फत लगानी सहज बनाउने पहल गरेपछि चेम्बरले आईटी उद्योगलाई प्रोत्साहन गर्न रणनीतिक योजना अघि सारेको हो।
चेम्बरले आफ्नो आईटी, सफ्टवेयर एण्ड टेक्नोलोजी समिति मार्फत उद्योगमा लगानीको खोजी, उद्यमशीलता विकास र अन्तर्राष्ट्रिय बजारसँग सहकार्य गर्ने लक्ष्य लिएको छ। यसका लागि चेम्बरले आईटी उद्यमीहरूसँग प्रारम्भिक चरणको छलफल गरिसकेको छ।
चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालमा आईटी उद्योगलाई आर्थिक विकासको प्रमुख स्रोतका रूपमा हेर्न सकिने बताएका छन्। “आईटी उद्योग विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र हो। सरकारले आगामी दशकमा वार्षिक ३० खर्ब रुपैयाँ भित्र्याउने लक्ष्य राखेको छ र चेम्बरले यसलाई सहजीकरण गर्नेछ,” अध्यक्ष अग्रवालले भने।
उनले आईटी उद्योगमा युवा सहभागिता सुनिश्चित गर्न नीतिगत सहजीकरण आवश्यक रहेकोमा जोड दिए। चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले पनि सार्वजनिक-निजी साझेदारी (PPP) मा आधारित कम्पनी स्थापना गरेर आईटी क्षेत्रको विकास गर्नुपर्ने बताए।
चेम्बरका आईटी, सफ्टवेयर एण्ड टेक्नोलोजी समितिका सभापति विज्ञान श्रेष्ठले आईटी उद्योगको विकासका लागि सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे। उनले युवाहरूको नवीन सोचलाई कार्यान्वयन गर्न लगानीको पहुँच वृद्धि गर्नुपर्ने बताए।
प्रतिक्रिया