काठमाडौं – ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको नाम, डिजाइन र निर्माण प्रक्रियाले निरन्तर विवाद निम्त्याइरहेको छ। सरकारी बजेट र योजनामा ‘फ्लाइओभर’ का रूपमा समावेश गरिएको यो संरचनाको स्वरूपलाई लिएर विभिन्न बहसहरू उठिरहेका छन्।
फ्लाइओभर कि ओभरपास? विभागको प्रस्टिकरण
सडक विभागका अनुसार यो संरचना निर्माण कम्पनीसँगको सम्झौतामा उल्लेख गरिएको डिजाइनमै निर्माण भइरहेको छ। विभागका प्रवक्ता अर्जुनप्रसाद अर्यालले फ्लाइओभर र ओभरपासलाई पर्यायवाची रूपमा प्रयोग गरिने बताउँदै, “निर्णय अनुसार नै निर्माण भइरहेको छ, यहाँ कुनै भिन्नता छैन,” भन्ने स्पष्टीकरण दिएका छन्।
उनले सहरको केन्द्रमा यस्तो संरचना उपयुक्त हुन्छ कि हुँदैन भन्ने बहस व्यक्तिपरक हुने भन्दै, निर्माण भइसकेपछि यसको अनुभवबाट भविष्यमा थप छलफल हुनसक्ने स्वीकार गरेका छन्।
किन अपनाइयो यस्तो डिजाइन?
ग्वार्को फ्लाइओभर निर्माणमा भूप्राविधिक प्रविधि प्रयोग गरिएको ‘मेकानिकल्ली स्टेबलाइज्ड अर्थ (एमएसई) वाल’ प्रविधि अपनाइएको छ।
यो प्रविधि पारंपरिक पुल निर्माणको तुलनामा सस्तो, छिटो र आकर्षक हुने भएकाले रोजिएको विभागले जनाएको छ। विभागका अनुसार यो प्रविधि नेपालमा नवीनतम मानिन्छ र यसलाई नागढुंगा सुरुङमार्गको बलम्बु खण्डमा पनि प्रयोग गरिएको छ।
फ्लाइओभर भत्किनुको कारण के?
ग्वार्को फ्लाइओभर ईपीसी मोडेलमा निर्माण भएको हो, जसअनुसार डिजाइन र निर्माण दुवैको जिम्मेवारी निर्माण कम्पनीकै हुन्छ। सम्झौताअनुसार निर्माणपछिको ५ वर्षसम्म क्षति भए कम्पनीले पुनर्निर्माण गर्नुपर्ने, र डिजाइन त्रुटि देखिए १० वर्षसम्म सच्याउनुपर्ने प्रावधान छ।
फ्लाइओभरको जगको माटो भार बहन गर्न कमजोर रहेको र दबिने सम्भावना पहिले नै अनुमान गरिएको थियो। यसलाई सन्तुलनमा राख्न माटोको भार वृद्धि गरिनुपर्ने तर त्यसले यातायात अवरुद्ध पार्ने देखिएकाले निर्माण कम्पनीले अन्तर्राष्ट्रिय विज्ञको परामर्शमा ‘स्टोन कोलम प्रविधि’ अपनाएको थियो।
तर, सातदोबाटोतर्फको भाग असमान रूपमा बसेपछि केही प्यानलमा ग्याप देखिएको विभागको भनाइ छ। विभागका अनुसार यो संरचना कमजोर भएर चर्किएको नभई, जमिन दब्दा असन्तुलन देखिएको हो।
पुनर्निर्माणको प्रक्रिया, लागत बढेको छैन
विभागका अनुसार झिकिएका प्यानलहरू निर्माण व्यवसायीकै खर्चमा पुनः जडान गरिँदैछ, जसले लागतमा कुनै वृद्धि गरेको छैन।
हाल ४० मिटर खण्ड पुनः जडान गर्ने कार्य तीव्र रूपमा भइरहेको र सम्भव भएसम्म छिटो सम्पन्न गरी सवारी आवागमन खुला गरिने विभागले जनाएको छ।
ग्वार्को फ्लाइओभरको निर्माणप्रक्रियाले नेपालमा भूप्राविधिक संरचनाहरूको भविष्यबारे गम्भीर बहस जन्माएको छ। अबको चुनौती भनेकै यो संरचना कत्तिको प्रभावकारी र दीर्घकालीन टिकाउ हुने भन्ने नै रहनेछ।
लेखकको बारेमा

प्रतिक्रिया