जीवन बीमा गर्नु अघि कस्तो बीमा गर्दा आफुले चाहेको लाभ लिन सकिन्छ भन्ने कुराको ज्ञान हुन जरुरी हुन्छ। बीमा जोखिम हस्तान्तरण तथा न्युन (रिक्स कभर) गर्ने माध्यम मात्रै नभएर एक राम्रो लगानी तथा बचतका साथसाथै आर्थिक भविष्यको सुनिश्चितता पनि हो। तसर्थ, आफुले गर्ने बीमाको बारेमा राम्रोसँग ज्ञान लियर मात्रै बीमा गर्नाले बीमाको उद्देश्य पूर्ति हुन्छ।
आजको दिनमा आउँदा पनि कतिपय व्यक्ति विशेषहरुले भन्ने गर्छन, ‘मृत्यु पछि पाउने पैसाको लागि किन बीमा गर्ने?’
बीमा गर्ने व्यक्ति (बिमित) को मृत्यु पश्चात बीमाबापत्को रकम आउँछ यो सत्य हो। तर, सबै किसिमका बीमालेखको उद्देश्य बिमितको मृत्यु पश्चात मात्रै बीमा गर्नुको उद्देश्य पूर्ति हुनु भने होईन।
यसको अर्थ बीमा गरेपछि मृत्यु पश्चात मात्रै बीमा कम्पनीले पैसा भुक्तानी गर्छन् भनेर बुझ्नु पूर्णतय गलत हो।
बीमा कम्पनीहरुले विभिन्न किसिमको बीमालेखहरु तयार पारेका छन् र चलनचल्तिमा छन। बीमकले आफुले गरेको बीमाबाट के कस्तो सुविद्या तथा लाभ पाउँछन् भनेर बुझ्न बीमाको प्रकारको बारेमा बुझ्न जरुरी हुन्छ। तसर्थ, बीमा कसरी छनोट गर्ने भनेर सहज बनाउन हामी बीमाका प्रकारहरुको बारेमा आज जानकारी दिँदै छौँ। जीवन बीमाका प्रकारहरु यसप्रकार छन।
सामान्यतया बीमा तीन प्रकारका हुन्छन
१–आजीवन बीमाः यो बीमा त्यस्तो बीमालेख हो, जसको लाभ बीमित स्वयम आफुले लिन पाउँदैन अर्थात बीमाको उद्देश्य तबमात्रै पूर्ति हुन्छ जब बीमा गरेको व्यक्तिको मृत्यु हुन्छ।
अर्थात, आजीवन बीमाको भुक्तानी बीमितको मृत्युपछि मात्रै हुन्छ। बीमा गराउने व्यक्तिले आफ्नो जीवन कालमा आफूले गरेको बीमा रकमको भोग चलन गर्न पाउँदैन ।
यो बीमाको उद्देश्य हो आश्रितलाई सुरक्षा दिनु। बीमितको आयआर्जन तथा उसैमा निहित रहेका परिवारका अन्य सदस्यतालाई आफ्नो जिवनकालपश्चात आर्थिक सुरक्षा तथा सहजिकरणको लागि यो बीमा गरिन्छ।
आफ्नो जीवनकालमा बीमा नपाउने हुनाले यो बीमालेख खासै चलनचल्तिमा हुँदैन। यद्यपी यो बीमालेख सस्तो हुन्छ।
आजीवन बीमा पनि तीन प्रकारका हुन्छन
–साधारण आजीवन जीवन बीमा
यसलाई अटुट आजीवन बीमा पनि भनिन्छ किनकी यो बीमालेख अन्तर्गत रहेर बीमितले आजीवन बीमाशुल्क बुझाईरहनु पर्दछ।
जीवनभर बीमितले निरन्तर बीमा शुल्क बुझाईरहन्छ र अन्त्यमा उसको मृत्युपश्चात इच्छाईएको व्यक्तिलाई कम्पनीले भुक्तानी दिन्छ।
कुनै परिवारमा एक जना मात्रै कमाउने हुन्छ र त्यसैमा धेरैजना आश्रित हुन्छन। उक्त व्यक्तिको अनुपस्थितिमा परिवारलाई गासबास नै जुटाउन गारो हुन्छ भने त्यस्तो अवस्थामा यो बीमा उपयुक्त हुन सक्दछ।
–सिमित भुक्तानी आजीवन बीमा
यस बीमालेख अन्तर्गत बीमा शुल्क भुक्तानी गर्ने अवधी तोकिएको हुन्छ । बीमा शुल्क भुक्तानी त्यही निश्चित अवधीसम्म मात्र गर्ने दायित्व बीमितलाई हुन्छ ।
यसमा निश्चित अवधिसम्म मात्र बीमाशुल्क तिर्नुपर्ने हुँदा यसलाई निश्चित आजीवन बीमा मानिन्छ । तर बीमा शुल्क भने तुलनात्मक रूपमा साधारण आजीवन बीमा भन्दा बढी हुन्छ किनकी जति अवधि कम भयो बीमा शुल्क बढी र जति अवधि बढी भयो बीमा शुल्क कम हुन्छ ।
–परिवर्तनीय आजीवन बीमा
यो प्रकारको बीमालेखमा बीमितले चाहेमा बीमालेख चालु भएको ५ वर्षपछि कुनै पनि अवधिको बन्दोबस्ती बीमामा परिवर्तन गर्न सक्ने सुविधा हुन्छ।
यसरी बीमालेख परिवर्तन गर्दा स्वास्थ्य परीक्षण गराउनु पर्दैन र पहिलो ५ वर्षको प्रिमियम पनि बुझाउनु पर्दैन । त्यसैले यसलाई एक वैकल्पिक बीमालेख पनि मानिन्छ। तर परिवर्तन पछिको मिति देखि बीमितले बीमकलाई बन्दोवस्ती बीमा शुल्क बुझाउनु पर्दछ ।
२–म्यादी जीवन बीमाः यो एक अस्थाई बीमा करार हो। तोकिएको बीमा अवधि भित्र बीमितको मृत्यु भएमा मात्र बीमा रकम भुक्तानी गरिन्छ।
यस्तो बीमालेखले केवल सुरक्षा प्रदान गर्दा यसलाई समर्पण मूल्यमा परिवर्तन गराउन सकिदैन । बीमा गर्ने बीमितको उमेरको आधारमा यसको बीमा शुल्क निर्धारण गरिन्छ ।
यस बीमाको बीमाशुल्क सावधिक जीवन बीमाको भन्दा तुलनात्मक रूपमा धेरै कम लाग्दछ। यस बीमाले बीमितको मृत्यु पश्चात बीमितको नजिकको हकदारलाई मृत्यु जोखिम बापत एकमुष्ठ रकम प्रदान गर्ने हुँदा मृत्यु जोखिम व्यवस्थापन गर्न म्यादी जीवन बीमा महत्वपूर्ण रहेको छ।
साथै यो जीवन बीमामा मृत्यु लाभको सुविधा मात्रै उपलब्ध गराईएको हुन्छन्, तर त्यसैमा केही थप शुल्क बुझाएपछि मृत्यु लाभसँगै स्वास्थ्य उपचार खर्च समेत उपलब्ध हुन सक्छ ।
विशेषगरी वैदेशिक रोजगारमा जाने कामदारहरुले गर्ने गर्छन, नेपाल सरकारले वैदेशिक रोजगारमा जानेहरुका लागि यो बीमा अनिवार्य गराएको हो।
३–सावधिक जीवन बीमाः
सामान्यतया गरिने सबैले गर्ने बीमा हो, सावधिक जीवन बीमा। यो बीमालेख अन्तर्गत रहेर एउटा निश्चित अवधिको लागि बीमा गराइन्छ। यस अनुसार बीमकले रकम तोकिएको अवधि समाप्त भएपछि बीमितलाई नै वा अवधि समाप्त हुनु अघि बीमितको मृत्यु भएमा पुरा बीमा रकम र त्यो अवधिसम्म समानुपातिक बोनस सहित इच्छाएको व्यक्तिलाई नै मुक्तानी गर्दछ ।
यस अन्तर्गत पनि विभिन्न प्रकारको बीमा योजना चलन चल्तीमा छन, केही यसप्रकार छन।
–साधारण सावधिक जीवन बीमा
यो सर्वाधिक लोकप्रिय जीवन बीमा हो । यो बीमालेखले वास्तवमा जीवन बीमाको प्रतिनिधित्व गरेको हुन्छ । साथै, यो लगानी बचत तथा पारिवारीक ’सुरक्षाको आदर्शको रूपमा रहेको हुन्छ।
यो बीमालेखमा बीमक र बीमित बीच भएको सहमति अनुसार एउटा निश्चित अवधि तोकी सो अवधि सम्म बीमा शुल्क तिर्नुपर्ने गरी जारी गरिन्छ र अवधि समाप्त भएपछि बीमित स्वयंलाई वा बीमितको मृत्यु पश्चात् निजको कानूनी हकवालालाई बीमाङ्क रकम भुक्तानी गरिन्छ।
–विशुद्ध सावधिक जीवन बीमा
यस बीमालेखमा बीमा रकम तब मात्र भुक्तानी हुन्छ जब बीमित स्वयं बीमा अवधिसम्म जीवित रहन्छ। जसले गर्दा बीमित जति धेरै बाँच्छ त्यत्ति नै बढी बीमाबाट लाभ लिन्छ।
यो बीमालेखले खासगरी अनिवार्य बचत हो। जो व्यक्तिलाई अरूको चिन्ता हुँदैन त्यस्ताले यो बीमा रूचाउँछन्।
यो बीमालेख फिर्ता सहित तथा फिर्ता रहित गरि २ प्रकारको हुन्छ। फिर्ता सहित बीमालेखमा बीमितको मृत्युभएमा बीमितले बुझाएको रकम मात्र आश्रितलाई फिर्ता गरिन्छ भने फिर्ता रहित बीमालेखमा त्यसरी रकम फिर्ता गरिदैन।
–संयुक्त सावधिक जीवन बीमा
यो बीमालेखमा एकभन्दा बढी जीवनको बीमा गरिएको हुन्छ । जसअनुसार बीमाङ्क रकम या त बीमा अवधि समाप्त भएपछि या कुनै एक बीमितको मृत्यु भए पश्चात् जीवित बीमितलाई भुक्तानी गरिन्छ । बीमा शुल्कको भुक्तानी बीमा अवधि भर वा कुनै एक जीवनको अवसान नभएसम्म गरिन्छ । यो बीमालेख दम्पत्ति तथा साझेदारको लागि उपयुक्त मानिन्छ ।
–दोहोरो सावधिक जीवन बीमा
–यो बीमालेख अनुसार यदि बीमितको बीमा अवधि भित्र मृत्यु भएमा तोकिएको बीमाङ्क रकम तथा बीमा अवधिसम्म जीवित रहेमा सो अवधि समाप्त हुनासाथ दोब्बर बीमाङ्क रकम बीमितले पाउने गरी जारी गरिन्छ ।
–अग्रिम भुक्तानी सावधिक जीवन बीमा
यस बीमालेखमा बीमाङ्क रकमको भुक्तानी विभिन्न समयको अन्तरालमा बीमितलाई भुक्तानी गरिन्छ। बीमित जीवित रहेमा बीमा अवधि पुरा हुनु अगावै बीमालेखको शर्त अनुसार बीमाङ्क रकमको निश्चित प्रतिशत रकम बीमितलाई भुक्तानी गरिन्छ ।
यदि बीमितको बीमा अवधि नसकिंदै मृत्यु भएमा मृत्यु अगाडी बीमितले लिएको रकम नकटाई आश्रित परिवारलाई पुरै रकम भुक्तानी गरिन्छ ।
–बाल सावधिक जीवन बीमा
सन्तानको भविष्यलाई दृष्टिगत गरी बाबुआमाले आफ्नो बच्चाहरूको लागि यो बीमा लिन सक्दछन् । यो योजनामा शिक्षा र विवाहको लागि कुनै खास अवधिको लागि एकमुष्ट वा किस्ताबन्दीको रूपमा बीमा शुल्क बुझाउन सकिन्छ र मृत्यु भएमापनि बीमा अवधि सकिएपछि मात्र बीमाङ्क रकमको भुक्तानी एक मुष्ट वा पटक पटकमा गरिन्छ ।
#2 जीवन बीमाका आधार तथा ध्यानदिनुपर्ने कुराहरु
#1 बीमा के हो ?
प्रतिक्रिया