काठमाडौं । जाजरकोट भूकम्पप्रभावितका लागि करिब ४३ करोड सहयोग प्रतिबद्धता आएको छ । जाजरकोटको रामीडाँडा केन्द्र बनाएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट प्रभावित भएकाहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आइतबार साँझसम्ममा विभिन्न संघसंस्था र व्यक्तिले ४२ करोड ९५ लाख ८५ हजार २३ रुपैयाँ सहयोग प्रतिबद्धता जनाएका हुन् ।सरकारी निकाय, प्रदेश सरकार, स्थानीय तह, विभिन्न राजनीतिक दल, निजी क्षेत्र, विदेशी निकाय तथा गैरआवासीय नेपालीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत भूकम्पपीडितलाई सहयाग गरेका हुन् । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।
सरकारले भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई केन्द्रीय राहत व्यवस्थापन कोषबाट तत्काल पाँच-पाँच करोड उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै भूकम्पमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई दुई लाखका दरले राहत दिने निर्णय गरिएको छ ।
सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले सो सहयोग रकम तत्काल उपलब्ध गराउने निर्णय गरेको हो । गण्डकी प्रदेश सरकारले भूकम्प प्रभावितको राहत तथा पुनःस्थापनामा एक करोड सहयोग गर्ने भएको छ ।
यस्तै बागमती र लुम्बिनी प्रदेश सरकारले डेढ-डेढ करोड सहयोग उपलब्ध गराउने भएका छन् । लुम्बिनी प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाउने निर्णयसमेत गरेको छ ।
चीनले भूकम्पपीडितका लागि १० करोड रुपैयाँबराबरको सहायता सामग्री उपलब्ध गराउने घोषणा गरेको छ । चीनले त्रिपाल, कम्बललगायत राहत सामग्री सहयोग गर्ने भएको हो । त्यस्तै भारतले १२ टनबराबरको टेन्ट, स्लिपिङ ब्याग, कम्बललगायत अत्यावश्यक सामग्री सहयोग गरेको छ ।
त्यसैगरी नेपाली कांग्रेसले पार्टीका तर्फबाट सरकारलाई ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै कांग्रेसका सांसदहरुले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने भएका छन् ।
नेपाली कांग्रेसका पूर्व सांसद दिव्यमणी राजभण्डारीले पनि जाजरकोट र रुकुमका भूकम्प पीडितलाई सघाउन प्रतिबद्धता गरेको पाँच लाख रुपैयाँ प्रदान गरेका छन् । उनले एकद्धार प्रणाली अन्तर्गत कांग्रेसको सबै रकम एकैपटक जाओस् भन्ने लक्ष्य लिएर पाँच लाख रुपैयाँको चेक कांग्रेस सभापति शेरबहादुर देउवालाई बुझाएका छन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको तलब भूकम्पपीडित प्रदान गर्ने घोषणा गरेका छन् । गण्डकी प्रदेशसभा सदस्य डिल्लाराम सुवेदीले एक महिनाको पारिश्रमिक भूकम्पप्रभावित क्षेत्रमा सहयोग गर्ने भएका छन् । कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारी कोषमा एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।
भूकम्प प्रभावितका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आर्थिक सहयोग गर्ने भएको छ । क्यानले आईसीसी विश्वकप टी-२० को एसिया छनोटअन्तर्गत आइतबार भएको फाइनल खेलको टिकट बिक्रीबाट उठेको रकमको ५० प्रतिशत भूकम्पपीडितलाई प्रदान गर्ने भएको हो ।
ललितपुरको जावलाखेलमा आयोजना गरिएको गोदावरी मेलामा आइतबार बिक्री भएको टिकटबाट संकलित ५० प्रतिशत रकम भूकम्पपीडितलाई उपलब्ध गराइने भएको छ ।
भूकम्पपीडितका लागि भरतपुर महानगरपालिकाले एक करोड सहयोग गर्ने निर्णय गरेको छ । त्यस्तै नवलपुरको मध्यविन्दु नगरपालिकाले दुई लाख सहयोग गर्ने भएको छ । सिन्धुपाल्चोकका तीनवटा स्थानीय तहले ३५ लाख सहयोग गर्ने निर्णय गरेका छन् । बाह्रबिसे नगरपालिकाले १५ लाख, भोटेकोशी गाउँपालिकाले १० लाख र त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख सहयोग प्रदान गर्ने निर्णय गरेका हुन् ।
पोखरा महानगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा ५० लाख सहयोगको घोषणा गरेको छ । महानगरले जनप्रतिनिधिको एक महिनाको पारिश्रमिकबापतको १३ लाख १५ हजार र बाँकी विपद् कोषबाट व्यहोर्ने गरी ५० लाखबराबरको राहत सहयोग गर्न लागेको हो ।
त्यस्तै भोजपुरको पौवादुङमा गाउँपालिकाले भूकम्पपीडितलाई दुई लाख सहयोग गर्ने भएको छ । डोल्पाको ठूलीभेरी नगरपालिकाले पाँच लाख नगदसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का ‘स्वघोषित’ अध्यक्ष आरके शर्माले दुई वर्षभित्र १० करोडको आपतकालीन राहत तथा उद्धार कोष बनाउने घोषणा गरेका छन् । उनले व्यक्तिगत तर्फबाट २१ लाख रुपैयाँ प्रदान गरेका छन् ।
उक्त कोषमा ‘स्वघोषित’ समितिका महासचिव बुद्धिसागर सुवेदीले १९ लाख, कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगानाले १७ लाख, पूर्वअध्यक्ष कुल आचार्यले ५ लाख ५ हजार ५५५, उपाध्यक्ष खगेन्द्र न्यौपानेले ५ लाख, युवा उपाध्यक्ष अब्दुल बसिदले ५ लाख, सचिव लोक दाहालले ५ लाख, उपाध्यक्ष गोविन्द श्रेष्ठले ३ लाख र कृष्णजीवी पन्थले २ लाख १११ रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । त्यस्तै उपाध्यक्ष डा. केशव पौडेल, उपाध्यक्ष गंगाधर गौतम र सचिव दयानिधि सापकोटाले एक-एक लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।

यस्तै गैरआवासीय नेपाली संघले सरकारको राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
नेपाल पर्वतारोहण संघले भूकम्पपीडितलाई सहयोग पुर्याउने उद्देश्यले ३१ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आरजु राइस मिलले भूकम्पपीडितका लागि ५ सय बोरा चामल पठाएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने भएको छ । राप्रपाले पार्टीको तर्फबाट २५ लाख र संघीय तथा प्रदेशसभा सदस्यको एक महिनाबराबरको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । त्यस्तै राप्रपा आँबुखैरेनी गाउँ कार्यसमितिले पार्टीका नेता तथा कार्यकर्ताबाट ४६ हजार १३५ रुपैयाँ संकलन गरेको छ ।
भूकम्पपीडितका लागि बैंक तथा वित्तीय संस्थाले पनि सहयोग घोषणा गरिरहेका छन् । अहिलेसम्म सिटिजन्स बैंकले २५ लाख, एनआईसी एशिया बैंकले ५१ लाख, प्राइम कमर्सियल बैंकले २५ लाख ५१ हजार र बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले १० लाख सहयोग गर्ने घोषणा गरेका हुन् ।
आईएमई लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भूकम्प प्रभावितलाई १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
यस्तै बुद्ध एयरले १ करोड, भाटभटेनी सुपर मार्केटले १ करोड ११ लाख ११ हजार १११ र एनसेल ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । भूकम्पपीडितलाई युनिलिभर नेपालले पनि राहत सामग्री उपलब्ध गराएको छ ।
एलए एजुकेसन ग्रुपका संस्थापक उमेश श्रेष्ठ र विद्या लिम्बूले भूकम्पमा आमाबुवा गुमाएका १० जना बालबालिकालाई कक्षा १२ सम्म छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेका छन् । यस्तै नेपाल रिमेडिज लिमिटेडले एक लाख ट्याबलेड प्यारासिटामोल सहयोग गरेको जनाएको छ ।
प्रतिक्रिया