काठमाडौँ। हिमालयन डिष्टिलरी लिमिटेडको नाफामा भारी गिरावट आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ५१ प्रतिशतले घटेको हो। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १० करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१.२४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २१ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीले सार्वजनीक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बिक्री आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको देखिन्छ।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २९.७० प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो ३ महिनामा १ अर्ब ३८ करोड रुपैयाँ बिक्री आम्दानी गरेको यस कम्पनीले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९७ करोड १८ लाख रुपैयाँ मात्र यस्तो आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ३८.७० प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४८.५५ प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३९ रूपैयाँ ५२ पैसा घटेर १७ रुपैयाँ ३२ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १०७.२२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ४१ पैसा रहेको छ।
प्रतिक्रिया