काठमाडौँ। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपीओ आजबाट निष्काशन तथा बिक्रि खुला भएको छ। आज शुक्रबार मंसिर ८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला भएको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये, कम्पनीले पहिलो चरणमा सोको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
दोस्रो चरणमा कम्पनीले ४२ हजार कित्ता सेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । यसर्थ, बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा मंसिर २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। यो आइपीओमा एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
रेटिङ रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । इक्रा नेपालले २०७९ माघ ६ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० माघ २ गतेसम्म बाहल रहनेछ ।
प्रतिक्रिया