काठमाडौँ। नेपालमा यो वर्ष हवाई यात्रुको संख्याको संख्या उल्लेख्यरुपमा बढेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार यो वर्ष ११ महिनामा यात्रुको संख्या अन्तर्राष्ट्रिय उडानतर्फ ४१.०४ र आन्तरिक उडानतर्फ ३७.४८ प्रतिशतले बढेको हो।
क्यानका महानिर्देशक प्रदीप अधिकारीले आइतबार क्यानको २५ औं वार्षिकोत्सवमा सन् २०२३ को ११ महिनामा अन्तर्राष्ट्रियतर्फ ४१ लाख ५४ हजार ३९३ यात्रुले यात्रा गरेको जानकारी दिए। यो संख्या सन् २०२२ को ११ महिनामा २९ लाख ४५ हजार ५४० थियो।
अधिकारीका अनुसार यो वर्ष आन्तरिकतर्फ ७७ लाख ९४ हजार २१७ जनाले यात्रा गरेका छन्। यो संख्या पोहोर ११ महिनामा ५६ लाख ६८ हजार ९४१ थियो।
अहिले अन्तर्राष्ट्रिय उडानका लागि तीनवटा विमानस्थल छन्। तर तीनमध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालनमा आएको एक वर्षमा एउटै नियमित उडान भएको छैन भने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सातामा एउटा मात्र उडान हुने गरेको छ।
नेपालमा हाल ३० वटा वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्। पोहोर यो संख्या २९ थियो। ती कम्पनीले नेपालबाट १६ देशका ३३ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान हुँदै आएको छ।
प्रतिक्रिया