काठमाडौँ। अरुण भ्याली र रिडी पावर कम्पनी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ । अरुणले १०० प्रतिशत हकप्रद सेयर र रिडी पावरले ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १:१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । हाल अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ रहेको छ । कम्पनीले सोही पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।
हकप्रद सेयरबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजना निर्माणको लागि आवश्यक पर्ने स्वपुँजीको लागि पीके हाइड्रोपावर प्रालिको संस्थापक सेयरमा लगानी गर्ने कम्पनीले जानकारी गराएको छ ।
यस्तै, बाँकी ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ भने हाल सञ्चालनमा रहेको काबेली–१ क्यास्केड जलविद्युत आयोजनाको निर्माण गर्दा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग हुनेछ । यता, रिडी पावर कम्पनीले १:०.५ अनुपातमा कुल ७७ लाख ४४ हजार ५०६ कित्ता सेयर हकप्रद जारी गर्न अनुमति पाएको हो ।
यो हाइड्रोपावरको लगानी तथा व्यवस्थापनमा रहेको साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलिविद्युत आयोजना निर्माण गर्न र उक्त आयोजनामा स्वपुँजी व्यवस्थापन गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल रिडी पावरको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया