काठमाडौँ। नवनियुक्त अर्थमन्त्री डाक्टर प्रकाशशरण महतसंग नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधि मण्डलले आज विहान सिंहदरवारमा बधाई भेटवार्ता गरेको छ । डा. महत शुुक्रवारमात्र देशको अर्थमन्त्रीमा नियुक्त हुनुु भएका थिए।
सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिँदै अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा व्रिफिङ गर्दै केही मागहरु राखेका हुन्।
भेटवार्तामा अध्यक्ष गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउनु पर्ने सुझाव दिए। यसका लागि केन्द्रीय बैंक र सरकारले संयुक्त पहलमा तरलता प्रवाह गरेर ब्याजदर झार्नुपर्ने सुझाव उनको थियो ।
सहकारी र लघुवित्तमा तरलता बढाउने गरि काम अघि बढाउन पनि उनले सो अवसरमा जोड दिए।
सरकारी खर्च निक्कै सुस्त रहेको भन्दै त्यसलाई बढाउन पनि गोल्छाले सुझाव दिए। अहिले करिब २४ प्रतिशत मात्र रहेको सरकारी खर्चलाई विस्तार गर्न उनको आग्रह थियो ।
अहिले सरकारसंग राजस्व कम उठेको छ, चालु खर्च धान्न मुस्किल पर्न थालेको अवस्था
छ । यसका लागि बाहिरी ऋण उठाएर भएपनि खर्च गर्नुपर्ने उनको सुुझाव थियो । यसरी लिएको ऋण, विकास खर्च गर्नलाई मात्र प्रयोग गर्नुपर्नेमा समेत उनले जोड दिए ।
नवनियुक्त अर्थमन्त्रीसंगको भेटमा अध्यक्षले राज्यसंयन्त्र पूर्ण रुपमा प्रयोग गरेर सीमाबाट हुने अवैध आयात रोक्नुपर्ने र त्यसले राजस्व वृद्धिमा समेत सहयोग पुरयाउने सुुझाए।
अध्यक्ष गोल्छाले विदेशबाट पैसा भित्रयाउनका लागि दाताहरुसंग पहल गर्नुपर्ने बताउदै स्थानीय दाताहरुसंग पनि सम्मेलन गर्न आग्रह गरे।
निजी क्षेत्रको मनोबल उकास्ने खालका संदेश प्रवाह गर्न अध्यक्षले जोड दिए। राजस्व उठाउने बहानामा निजी क्षेत्रलाई त्रसित पार्न नहुने भन्दै मनोबल उच्च बनाएर अगाडि बढ्ने वातावरण तयार पार्न सुझाव दिए।
नवनियुक्त अर्थमन्त्री डाक्टर महतले समस्याग्रस्त अर्थतन्त्र सुधारने आफ्नो पहिलो प्राथमिकता र प्रतिवद्धता रहेकाले यसमा निजी क्षेत्रका छाता संस्थाको सुुझाव र सहकार्यबाट आफू अगाडि बढ्ने विश्वास दिलाए।
‘तपाईहरुको मनोवल घट्न दिन्न तपाईहरुसंग निरन्तर संवादमा रहन्छु । मैले अर्थतन्त्रलाई सुुधार गर्न गरेको प्रतिवद्धता पुरा गर्न तपाईहरुबाट पूर्ण सहयोग पाउने अपेक्षा गरेको छु’ नवनियुक्त अर्थमन्त्री डा. महतले महासंघसंगको भेटवार्तामा भने।
प्रतिक्रिया