काठमाडौँ। पछिल्लो एक वर्ष अवधिमा जीवन बीमा कम्पनीहरुको व्यवसाय सामान्य बढेको छ।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०–८१ को मंसिरसम्म कम्पनीहरुले ६१ अर्ब ७५ करोड ८० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन्।
गत आर्थिक वर्ष २०७९–८० को मंसिरसम्म कम्पनीहरुले ५९ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका थिए। यसर्थ, गत आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको बिमाशुल्क ३.७७ प्रतिशतले बढेको छ।
यो अवधिमा सबैभन्दा धेरै व्यवसाय प्रभु महालक्ष्मी लाइफले वृद्धि गरेको छ । कम्पनीले गत वर्षको तुलनामा १५.९ प्रतिशतले व्यवसाय बढाएर १ अर्ब ६७ करोड ६० लाख रुपैयाँ पुर्याएको हो।
यस्तै, हिमालयन लाइफले पनि बीमाशुल्क आर्जन १३.३ प्रतिशतले वृद्धि गरेको छ । गत मङसिरसम्मको अवधिमा कम्पनीले कुल ६ अर्ब ७९ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो। तेस्रो सूचीमा रहेको आइएमई लाइफको पनि बीमा शुल्क आर्जन ११.१ प्रतिशतले बढेर १ अर्ब ६३ करोड ७८ लाख रुपैयाँ पुगेको छ।
प्रदेशको हिसाबले हेर्दा जीवन बीमकहरुको सबैभन्दा धेरै व्यवसाय बागमतीमा देखिएको छ। समीक्षा अवधिसम्म बागमतीबाट मात्रै कम्पनीहरुले २८ अर्ब २१ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन्। गत वर्ष मंसिरसम्म कम्पनीहरुले बागमती प्रदेशबाट २७ करोड ६८ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका थिए। बागमतीमा जीवन बीमा व्यवसाय १.९१ प्रतिशतले बढेको छ।
यसैगरी लुम्बिनी प्रदेश बीमा व्यवसाय दोस्रो ठूलो बजार देखिएको छ। यो प्रदेशबाट कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिरसम्म ९ अर्ब ३१ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन्। गत वर्ष मंसिरसम्म लुम्बिनीबाट कम्पनीहरुले ८ अर्ब ३० करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका थिए।
समीक्षा अवधिसम्म कम्पनीहरुले कोशी प्रदेशबाट ७ अर्ब २८ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेकोमा गण्डकी प्रदेशबाट ६ अर्ब २२ करोड रुपैयाँ उठाएका छन्। गत वर्ष मंसिरसम्म कम्पनीहरुले कोशी प्रदेशबाट ६ अर्ब ९६ करोड रुपैयाँ र गण्डकीबाट ५ अर्ब ८५ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका थिए।
मंसिरसम्म मधेश प्रदेशबाट कम्पनीहरुले ५ अर्ब ३५ करोड रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट ३ अर्ब ६२ करोड रुपैयाँ र कर्णालीबाट १ अर्ब ७३ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन्। गत वर्ष मंसिरसम्म यी प्रदेशबाट क्रमशः ५ अर्ब २८ करोड रुपैयाँ, २ अर्ब ९६ करोड रुपैयाँ र २ अर्ब ४५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए।
पछिल्लो एक वर्षमा जीवन बीमाको व्यापार सबै प्रदेशमा बढ्दा कर्णालीमा भने २९.५४ प्रतिशतले घटेको छ।
प्रतिक्रिया