काठमाडौँ। सेयर बजारमा दुई वर्षयताकै उच्च कारोबार भएको छ। मंगलबार ८ अर्ब रुपैयाँ माथिको सेयर किनबेच भएको हो।
बैंकको ब्याजदर घटेको प्रभावस्वरुप नेप्सेले हाफ सेन्चुरी हान्दा नेप्सेमा २०७८ माघ २० यताकै उच्च कारोबार भएको हो। त्यो दिन ८ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो।
नेप्से ५४.५४ अंकले बढेर २१७५.१७ विन्दुमा पुगेको छ। १३ वटै उपसमूहले नेप्से बढाएका हुन्। फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै बढेको छ। यो उपसमूहको सूचक ४.७५ प्रतिशतले बढेको हो।
यस्तै, लगानी, लघुवित्त र जलविद्युत उपसमूहको सूचक ३ प्रतिशतभन्दा बढी उकालो लागेको छ। बैंक, विकास बैंक, व्यापार, उत्पादनमूलक र अन्य उपसमूहको सूचक पनि २ प्रतिशत भन्दा धेरै उकालो लागेको छ।
बजार खुलेदेखि नै नेप्से उकालो लागेको थियो। २१४ कम्पनीको सेयर मूल्य बढेकामा एक दर्जभन्दा बढी कम्पनीको मूल्य सर्किट लागेर उकालो लागेको छ। सर्किट लागेकामध्ये ९ वटा जलविद्युत कम्पनी हुन्।
८ अर्ब २ करोड रुपैयाँको सेयर कारोबारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ। यो कम्पनीको सबैभन्दा धेरै २८ करोड ३१ लाख रुपैयाँको सेयर किनबेच भएको हो। यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २३ करोड २६ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको २१ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ।
प्रतिक्रिया