काठमाडौँ। आरएसडीसी लघुवित्तको नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १२ प्रतिशतले घटेको छ। लघुवित्तले सार्वजनीक गरेको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो।
लघुवित्तले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ६ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षका यसै अवधिमा ७ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यो वर्ष लघुवित्तको नाफा १२.७३ प्रतिशतले घटेको देखिन्छ।
लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ भने खराब कर्जा बढेको छ। यसले गर्दा उसको नाफा प्रभावित भएको हो।
वित्तीय विवरण अनुसार लघुवित्तका खुद ब्याज आम्दानी १४ करोड ७५ लाख रुपैयाँबाट घटेर १२ करोड २० लाख ११ हजार रुपैयाँमा झरेको छ। जुन १७।३२ प्रतिशतले कम हो। सञ्चालन नाफा पनि १२।७३ प्रतिशतले ले घटेर ९ करोड ९० लाख ६ हजार रुपैयाँमा झरेको छ।
यस अवधिमा लघुवित्तले अन्य लघुवित्त वित्तीय संस्था र सहकारीलाई ६ अर्ब ६४ करोड रुपैयाँ कर्जा सापटी दिएको छ भने अन्य ग्राहकहरुलाई १ करोड ३२ लाख कर्जा सापटी दिएको छ। लघुवित्तको खराब कर्जा ०.८१ प्रतिशतबाट बढेर १.८२ प्रतिशत पुगेको छ ।
हाल लघुवित्तको चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार रुपैयाँ छ भने जगेडा कोषमा १२ करोड १० लाख रुपैयाँ छ।
लघुवित्तको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७३ पैसाबाट घटेर १५ रुपैयाँ ९४ पैसामा झरेको छ भने प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ०१ पैसा छ ।
प्रतिक्रिया