काठमाडौँ। रिलायन्स स्पिनिङ मिल्सको शेयरमूल्य तय भएको छ। कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरेको शेयरको शिलबन्दी आवेदन आज सोमबार खोलिएसँगै कटअफ मूल्य तय भएको हो।
नेप्सेको कार्यालयमा आज सोमबार योग्य संस्थागत लगानीकर्ताले शेयर खरिदका लागि दिएका शिलबन्दी आवेदनहरु खोलिएको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार यस निष्काशनमा कुल ६४ वटा आवेदन परेको थियो ।
जसमा १८ वटा संस्थाले ९१२ रुपैयाँमा शेयर खरिदाको लागि आवेदन दिएका छन् । कम्पनीको शेयरको कटअफ मूल्य पनि ९१२ नै कायम भएको छ । ९१२ मा आवेदन दिनेले समानुपातिक रुपमा शेयर पाउने छन् । ९१२ मा आवेदन दिनेले आवेदन दिएको शेयरको ६५।७२ प्रतिशत शेयर मात्र पाउने छन् । ९१२ भन्दा माथिको लागि आवेदन दिनेले भने माग गरे बमोजिम कै शेयर पाउने छन् ।
कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रति शेयर ६०८ देखि ९१२ रुपैयाँसम्मको मूल्य सीमा तोकेको थियो । यस सीमाको बीचमा रहेर योग्य संस्थागत लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था थियो । माथिल्लो बिन्दुमा नै कट अफ मूल्य तय भएको हो ।
सर्वसाधारणलाई निष्काशन गरिने शेयरको ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ । सोहि अनुसार कम्पनीले कुल निष्काशन गर्न लागिएको शेयर १९ लाख २६ हजार ६ सय कित्ताको ४० प्रतिशतले हुन आउने शेयर ७ लाख ७० हजार ६ सय ४० कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरेको हो ।
सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने व्यवस्था छ । यस हिसाबमा सर्वसाधारणलाई कम्पनीको शेयर प्रति कित्ता ८२० रुपैयाँ ८० पैसा पर्न जान्छ ।
पवन गोल्यान यस कम्पनीका कार्यकारी अध्यक्ष हुन् । शशिकान्त अग्रवाल कम्पनीका संचालक हुने भने अक्षय गोल्यान कम्पनीका प्रबन्ध संचालक हुन् । कम्पनीको औद्योगिक कारखाना सुनसरीको दुहबी र खनारमा रहेको छ । कम्पनीले अन्तराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलिक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्ना उत्पादन टर्की र भारतमा निर्यात गर्दै आएको छ । २०५१ सालदेखि संचालनमा रहेको यस कम्पनीले हाल ४३ सय बढीलाई रोजगारी दिएको छ ।
रिलायन्स स्पिनिङ मिल्स बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने दोस्रो कम्पनी बनेको छ ।सर्वोत्तम सिमेन्ट बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न अनुमति पाउने पहिलो कम्पनी हो ।
प्रतिक्रिया