धनगढी । बैतडीको सुर्नया गाउँपालिकामा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले आफ्नो सचिवालय सदस्यलाई नियम बिपरित तलब भुक्तानी गरेको पाईएको छ । गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर कुँवर र उपाध्यक्ष मञ्जु महरा बोहराले आफ्नो नीजि सचिवालय सदस्यलाई मनोमानी तलब भुक्तानी गरेको पाइएको हो ।
गत बर्षको साउन देखि गाउँपालिकाले अध्यक्षको स्वकीय सचिवलाई ३४ हजार र उपाध्यक्षको स्वकीय सचिवलाई ३२ हजार मासिक दिदै आएको थियो। पालिकाले सचिवालय सदस्यसँग गत बर्षको पौषमा सम्झौता गरेको भएपनि उनीहरुलाई साउनबाटै (५ महिना अगाडिबाट) तलब भत्ता उपलब्ध गराउदै आएको थियो ।
नियम विपरीत स्वकीय सचिवलाई तलब भत्ता खुवाएको बिषयमा गाउँपालिका अध्यक्ष कुँवरसँग प्रतिक्रिया माग्दा उनले स्वीकार गरेका छन् । ‘मैले एक्लो निर्णय गरेर राखेको होइन, कार्यपालिकाको बैठकले नै स्वीकृत गरेकाले राखेको हुँ ।’ उनले भने, ‘हामीले गल्ति गरेका रहेछौं अब त्यस्तो हुनेछैन, तुरुन्त उहाँलाई (सचिवालय सदस्य) अवकास दिन लगाएको छु ।’ उनले आफ्नो गल्ति स्वीकार्दै दुवैजना सचिवालय सदस्यलाई अवकास दिन लगाएको बताए । स्वकीय सचिवसँग यस बिषयमा आफ्नो ध्यानाकर्षण भएको बताउदै उनले अहिलेसम्म सचिवालय सदस्यले तलब बापत बुझेको रकम बढीमा एक साता भित्र फिर्ता दाखिला गराउन आग्रह गरेको बताए । सोहि बिषयमा गाउँपालिका उपाध्यक्ष बोहरासँग कुरा गर्न खोज्दा उनि सम्पर्कमा आएकी छैनन् ।
अध्यक्ष कुँवर र उपाध्यक्ष बोहराले नियम विपरीत स्वकीय सचिव राखेर तलब भत्ता दिएको बिषयमा व्यापक आलोचना भएपछि गाउँपालिकाले सेवा सुविधा बापतको रकम फिर्ता दाखिला गराउने निर्णय गरेको छ । गाउँपालिकाको पौष १० गते बसेको कार्यपालिका बैठकले स्वकीय सचिव राख्ने निर्णय गर्दै उनीहरुलाई पौष ११ गते करारमा नियुक्ती दिएको थियो । गाउँपालिकाले पौष ११ गते देखि करारमा नियुक्ति दिएपनि ५ महिना अगाडी ९ साउन १ गते० देखि नै तलब सुबिधा दिने निर्णय गरेको थियो । नियमानुसार गाउँपालिका अध्यक्षको सचिवालय सदस्यले मासिक १८ हजार र उपाध्यक्षको सचिवालय सदस्यले मासिक १५ हजार पाउनुपर्ने हुन्छ । तर, अध्यक्ष र उपाध्यक्षको सचिवालय सदस्यलाई (सल्लाहकार) नियम बिपरित ३४ हजार र ३२ हजार तलब भुक्तानी गरेको पाइएपछि चौतर्फी आलोचना भएको हो ।
सचिवालय सदस्यको बिषयमा के गर्ने भनेर छलफल भएपछि कार्यविधि बनाएर अघि बढ्ने गाउँपालिकाका प्रवक्ता प्रताप महराले बताए । अध्यक्ष स्तरको बैठकबाट सो सम्बन्धी कार्यविधि नबनुञ्जेल सम्मका लागि स्वकीय सचिवहरुलाई अवकाश दिने निर्णय भएको बताए ।
प्रतिक्रिया