धनगढी । कैलाली(जिल्लामा पछिल्लो समयमा सुपर मार्केटहरू खुल्ने क्रम बढ्दै गएको छ । जिल्लाका सहरी क्षेत्रहरूसँगै गाउँमा पनि आधुनिक मार्टहरु खुल्न थालेका छन् । धनगढी उपमहानगरपालिका क्षेत्रमा मात्र करिब आधादर्जन सुपर मार्केट सञ्चालनमा छन् । सञ्चालनमा आएकामध्ये व्यक्तिगत तथा सामूहिक लगानीमा केही सञ्चालनमा छन् भने केही मार्ट तथा सुपर मार्केटहरू निर्माण हुँदैछन् ।
कृषिमा पनि सम्भावना देखेर उज्वल बुर्लाकोटिले करिब ५ करोड लागतमा नेपालमै पहिलो आधुनिक कृषि मार्ट संचालनमा ल्याएका छन् । लामो समय आफ्नै पसलमा अनुभव बटुल्दै आएका उनि बुवाको सपना पुरा गर्न आधुनिक कृषि मार्ट संचालनमा ल्याएको बताउछन् । ‘उमेरका हिसाबले सानै हुँदा देखि नै पसलमा बस्दा बिजनेस आईडीया जेनेरेट भयो’, उनले भने । ‘पछि बिस्तारै पढाईमा व्यस्त हुन थाले । र, पहिलो प्राथमिकता पढ्नु भएकाले पढाई पुरा गरे ।’
धनगढीमा ३५ बर्ष देखि कृषि तथा अग्रोभेट संचालन गर्दै आएका उनका बुवाले विदेश भ्रमणमा गएको बेला देखेको सपना पुरा गर्न मार्ट संचालनमा ल्याएको उनि बताउछन् । ‘बुवा भ्रमणमा बिभिन्न देश गएको बेला त्यहा यस्तो मार्ट देख्नु भएको रहेछ, एक दिन पारिवारिक छलफलका क्रममा भन्नु भयो, मैले पनि त्यसमा सम्भावना देखे र संचालन गर्ने कुरामा स्वीकृति थपे’, उनले भने । उनले बुवा बिष्णु बुर्लाकोटीको संरक्षणमा आधुनिक कृषि मार्ट संचालनमा ल्याएका हुन् ।
लामो समय आफ्नै पसलमा सुपरभाइजर भएर काम गर्दा मान्छेहरुको जमातमा आफुलाई चिनाउन नपाएको भन्दै स्कुलमा पढाउन सुरु गरेको उनि सम्झन्छन् । ‘मान्छेलाई पब्लिक इन्टेर्यक्सन बढी मन पर्छ । म सुपरभाइजर भएर काम गरिरहदा त्यसको कमि महशुस भयो । मेरो उद्देश्य बिजनेसलाई सर्कुलेट गर्नु थियो, त्यसै क्रममा कम्युनिकेसन स्किल बढाउन म स्कुलमा पढाउन थाले ।’ करिब ३ बर्ष स्कुलमा पढाएको कम्युनिकेसन स्किल बोकेर २ महिना अघि उनले आधुनिक कृषि मार्ट संचालनमा ल्याए ।
उमेरको हिसाबले आफु ३० मुनिको भएर पनि यसरी निर्माण गरिएको मार्टमा सबैको साथ र सहयोग पाएको बुर्लाकोटीले बताए । पढेका युवाहरु अस्ट्रेलिया, अमेरिका नै जानुपर्छ भन्नेहरुलाई यहि गरेर देखाउने उनको योजना छ । ‘पढाई सक्ने बित्तिकै विदेशिने युवाहरूलाई आधुनिक कृषि व्यवसायमा पनि सम्भावना छ, र उनीहरुले पढेर जानेका शीप यहीं उपयोग गरि आधुनिक कृषिमा सहभागी बनाउने उद्देश्यले मार्ट सञ्चालन गरेका हौं,’ संचालक बुर्लाकोटीले भने । युवाले नै संचालनमा ल्याएको देखेपछि युवाहरू यसतर्फ आउनसमेत सहज हुने उनले बताए । रोजगारको लागि विदेसिने युवाहरूलाई विदेश जान लाग्ने रकम यही लगानी गरेर व्यवसायी बन्न सकिन्छ भनेर प्रेरणासमेत दिने उनले बताए ।
किसानहरुले कृषि उपजमा सहुलियत खोज्नु, बजारीकरणको सही व्यवस्थापन नहुनु जस्ता कारणले उपभोक्ताले एकै ठाउँमा चाहेको वस्तु नपाउने समस्या रहेकाले उत्पादन कर्ता र उपभोक्ताको मनोभावनाको गहिरो विश्लेषण मार्फत मार्ट स्थापना गरेको उनले सुनाए ।
सञ्चालक बुर्लाकोटीले मार्टले विशेषगरी किसानलाई व्यवसायीकरण गराउदै उपभोक्तालाई स्वस्थकर र गुणस्तरीय खाद्य सामाग्री उपलब्ध गराउने, बिउ–बिजन, मलखाद तथा कृषि उपकरण सुपथ मूल्यमा उपलब्ध गराउने, अर्गानिक तरकारी तथा फलफूल उपलब्ध गराउने, कृषि र भेटेरिनरी सम्बन्धी परामर्श दिने, लोप हुँदै गएका स्थानीय परिकारका खाना उपलब्ध गराउने लक्ष्य र योजनाका साथ मार्ट सञ्चालनमा ल्याइएको बताए ।
उनले मार्टमा बिउ विजन खरिद तथा बिक्री, कृषि तथा भेटेरिनरी औजार उपकरण तथा मेसिनहरु बिक्री, ताजा तरकारी तथा फलफूल बिक्री, फ्रोजन मिट तथा माछा बिक्रि, कृषि,वन लघु उद्यम र घरेलु उद्योगबाट उत्पादित हस्तकलाका सामग्री पनि बिक्री गर्ने जनाए ।
उनले मार्टमा डेरी तथा सुदूरपश्चिमका मौलिक र परम्परागत खाजा र खाना पाइने बताए । मार्टमा माणा, मासको बारा, मकै र कोदोको रोटी, सेल रोटी, ढिक्री लगायतका परम्परागत सुदूरपश्चिमेली खाना र खाजाका परिकार पाइन्छ ।
यस्तै, दही चिउरा, खीर, फापरको रोटी, पहाडी अर्गानिक आलुको परिकार, केराको अचार र केराकफ मःम, टिमुरको अचार, पकौडा, सिन्कीको अचार, कुपिण्डो कफ मिठाई र ढिँडोको स्वाद लिन पाइने छ। मार्टले तालिम तथा सेमिनार हलको सुविधासमेत रहेको छ भने अर्ग्यानिक तथा ताजा तरकारी, फलफूल र अन्य खाद्य सामग्री बिक्री गर्ने गरेको बताए ।
मार्टमा परम्परागत ज्ञान र प्रविधिसहितको कृषि संग्राहलय पनि राखिएको उनले बताए । उनले उक्त मार्ट सुदूरपश्चिममा मात्र नभएर नेपालकै एकै छानामुनि कृषि उपज पाइने पहिलो मार्ट भएको जनाए ।
सबै सामान एउटी छाना मुनि दिन पाउँदा बुवाको सपना पुरा गरेको अनुभव सुनाउँदै उनि भन्छन्,‘युवाहरुमा केहि काम गर्न धैर्यता नै हुँदैन भनेर सुन्दै आउँदा त्यसलाई परिवर्तन म आफैंबाट गरूँ कि भन्ने थट भित्रबाट आउछ । साथीभाइले बिदेशबाट यति कमाए उति कमाए भनेको सुन्दा आफु पनि जाउ कि लाग्छ । बल्लतल्ल मनलाई सम्झाउँछु ।’
उनि आफु कम्प्युटरको विद्यार्थी भएको सम्झिँदै उनले आफ्नो शीप विदेश गएर लगाउनु भन्दा आफ्नो आधुनिक मार्टलाई आधुनिक तरिकाले अगाडी बढाउन लागेको बताए । दराज देखि बिभिन्न इकमर्स साइटमा आफ्नो सामानहरु पाउने उनले बताए । शीप र क्षमता भएका युवाहरुले विदेश गएर मात्र कमाउन सक्छ भन्ने कुरा सबै युवाले सोच्नुपर्ने उनले बताए । उनले आधुनिक कृषि प्रणालीलाई अगाडी बढाउन शीप र क्षमता भएको युवाहरुलाई आग्रह पनि गरे । आधुनिक कृषि प्रणालीमा चाहिने मेसिनरी औजार तथा उपकरणहरु युवा वर्गले चासो दिएर उत्पादन गरे बजारीकरण गर्न आफ्नो कृषि मार्टले सक्दो सहयोग गर्ने बताए ।
प्रतिक्रिया